सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं : मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा नमाज पाठ गरी सद्भावपूर्वक मनाइएको छ।

इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्ममा विशेष महत्व राख्छ। बिहानै स्नान गरी मुस्लिम समुदाय मस्जिद वा इदगाहमा भेला भई सामूहिक नमाजमा सहभागी भए। नमाजपछि एकअर्कालाई आलिङ्गन गर्दै शुभकामना आदानप्रदान गरिएको दृश्यले धार्मिक एकता र सद्भाव दर्साएको छ।

काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र खुला इदगाहहरूमा ठुलो संख्यामा मुस्लिम श्रद्धालुहरू भेला भएका थिए।

बकर इदको ऐतिहासिक पृष्ठभूमि हिजरी संवत् अनुसार करिब १४४० वर्ष अघिको इस्लामिक कथा ‘इब्राहिम–इस्माइल बलिदान’सँग जोडिएको छ। अल्लाहको आदेशअनुसार इब्राहिमले आफ्ना सुपुत्र इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको, र अल्लाहले उनको समर्पण देखेर बलिदान रोकेको घटनाको सम्झनामा यो पर्व मनाइन्छ।

मुस्लिम धर्मगुरु मौलाना रहमत अलीका अनुसार यही इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा पैगम्बर मोहम्मद सलल्लाहु अलैहि वसल्लमको जन्म भएको हो। पैगम्बरले इस्लाम धर्मलाई व्यवस्थित ढंगले पुस्तान्तर गर्दै ‘हदिस’ धर्मग्रन्थको रचना गरेका थिए। अहिले पनि हदिसलाई मदरसाहरूमा पढाइन्छ।

मक्का र मदिनालाई यो पर्वको केन्द्रस्थल मानिन्छ, जहाँ प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा श्रद्धालु तीर्थयात्रामा जाने गर्छन्। नेपाल सरकार गृह मन्त्रालयमार्फत इच्छुक श्रद्धालुका लागि हज यात्राको व्यवस्था मिलाउने गरेको छ।

बकर इदको विशेषता भनेको कुर्बानी हो-धार्मिक विधिअनुसार मुसलमानहरूले धर्मले स्वीकृत जनावरलाई बलिदान दिँदै अल्लाहप्रतिको समर्पण देखाउने गर्छन्। कुर्बानीबाट प्राप्त मासु तीन भागमा बाँडिन्छस् एउटा भाग गरिब र विपन्नलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई, र तेस्रो भाग आफू र परिवारका लागि राख्ने गरिन्छ।

नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार, आजको पहिलो दिनको कुर्बानीसमेत सम्पन्न भइसकेको छ र मुस्लिम समुदायले तीन दिनसम्म अर्थात् सोमबारसम्म बकर इदको पर्व हर्षोल्लाससाथ मनाउनेछ। 

जेठ २४, २०८२ शनिबार १९:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।