संगीतकारका दु:ख : गीतले करोड क्लब पार गर्दा पनि घरकाले बाहेक चिन्दैनन्

काठमाडौं : ‘रुकुम मैकोट, रुकुम मैकोट’ बोलको गीत नसुनेका वा ननाचेका श्रोता सायदै होलान्। फिल्म ‘खुस्मा’ को यो गीत एक समय निकै चर्चामा रह्यो। युट्युबमा यसको भ्यूज १३ करोड ४१ लाखभन्दा माथि पुगिसकेको छ। लाखौंको संख्यामा यसमा टिकटक भिडियो पनि बने। यो गीतले रुकुम र मैकोटलाई पनि चर्चामा ल्यायो। गायिका शान्ति श्री परियारले यही गीत स्टेजमा प्रस्तुत गरेर दर्शकलाई नचाउँदै आएकी छिन्। भिडियोमा नाच्ने अभिनेता धिरज मगर र उपासना सिंह ठकुरी पनि त्यत्तिकै चर्चामा छन्। तर, संगीतकार तथा गायक एसडी योगीलाई भने कसैले चिन्दैनन्।
म्युजिक इन्डस्ट्रीकै मान्छेले समेत उनलाई चिन्दैनन्। आखिर किन त ? ‘म आफूले कर्म गर्ने हो। कर्मको फलको आश नगर्ने व्यक्ति हुँ। बाहिर चर्चामा आएर पनि खासै केही हुँदैन। अन्तर्वार्ता दिन मन लाग्दैन।’ संगीतकार योगीले उकेरासँग भने, ‘आफूले गाएका, संगीत भरेका गीतले चर्चा पाउँदा खुशी लाग्छ। कहिलेकाहीँ आफ्नै अगाडि मान्छेहरूले त्यो गीत गुनगुनाएको सुनेको छु, त्यो अनुभव एकदमै गज्जबको लाग्छ।’
सार्वजनिक स्थानमा बस्दा हिँड्दा कतिपयले आफ्नै गीत गाएर रमाइलो गरेको देख्दा उनी खुशी हुन्छन्। आफूलाई नचिन्नेमा दुःख नलाग्ने बताउँदै उनी भन्छन्, ‘जे होस्, राम्रै काम गरेको रैछु भन्ने लाग्छ। मलाई कुनै गुनासो छैन।’
एसडी योगी पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हुन्। फिल्म ‘खुस्मा’ कै अर्को गीत ‘खुशीका फूल बटुलेर’, ‘नाङ्गो गाउँ’ फिल्मको ‘सुन सुन सुन्दरी’, ‘कबड्डी ४’ को ‘आँखामा सपना केसरी’, अनि ‘हे नीर’ पनि उनका चर्चित सिर्जनाहरू हुन्। तर उनी सिर्जना चर्चामा आएको हेर्न चाहन्छन्, आफू होइन।
‘पूर्ण बहादुरको सारंगी’ फिल्मको ‘काँधेकुरी’ गीत पनि सुपरहिट भयो। फिल्मले इतिहासकै सबैभन्दा धेरै ४८ करोड रुपैयाँभन्दा बढी कमायो। तर यस फिल्मका गीतकार, संगीतकार तथा गायक प्रशान्त सिवाकोटी भने अझै पनि ओझेलमै छन्।
फिल्मका ‘नोटैले’, ‘मैझारो’ बोलका गीत पनि उनकै सिर्जना हुन्। युट्युबमा यी गीतले करोडौं पटक हेरिएका छन्। तर, ‘गीत चले अनुसारको त मलाई कसैले पनि चिन्नु हुन्न। म नाम र अनुहारभन्दा पनि बढी कामले नै चिनिन पाउँ भन्ने लाग्छ,’ उनी भन्छन्।
अहिले अलिकति चिन्न थालिएको महसुस भए पनि, ‘श्रोता दर्शकले त खासै चिन्नहुन्न,’ उनी थप्छन्। संगीतकार सिवाकोटी भन्छन्, ‘गीत चलेको देख्दा खुशी त लाग्छ, तर जसले पर्दा पछाडि बसेर काम गर्छ, उसलाई दर्शकले चिन्दैनन्।’ आफ्नै अगाडि मान्छेहरूले गुनगुनाएको गीत सुन्दा उनलाई अचम्म लाग्छ।
‘दर्शक श्रोताको हिसाबले त म अपरिचित नै छु। मेरो गीत सुनेर नाच्ने, रमाउने गरेको धेरै ठाउँमा देखेको छु। त्यो देख्दा खुशी लाग्छ,’ उनी भन्छन्।
मिडियामा नआउँदा, कन्ट्रोभर्सी नगर्दा वा आत्मप्रचार नगर्दा दर्शकले नचिन्ने उनको अनुभव छ। संगितकारहरूलाई मिडियाकर्मीले पनि खासै चासो नगरेको उनको अनुभव छ।
यता, २४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दुलही’ को गीत ‘सानो छँदा सुनेको थिए, एकादेशको कथा मैले’ आज पनि उत्तिकै चर्चामा छ। विवाह समारोहदेखि टिकटकसम्म यो गीत अझै पनि व्यापक रूपमा बजिरहेको हुन्छ।
यो गीत गायक उदित नारायण झा र सञ्चिवनीको स्वरमा छ। तर यसको संगीतकार को हुन् भन्ने धेरैलाई थाहा छैन। संगीतकार अष्ट लामाको अनुभव पनि उस्तै छ। आफ्ना नजिकका साथीभाइ बाहेक अरूले उनलाई चिन्दैनन्। ‘सागर बनी पर्खी रहनु’, ‘राम्री पनि भाकी छु’ बोलका गीतहरू उनका चर्चित सिर्जना हुन्।
‘राम्री पनि भाकी छु’ त विद्यालयको कार्यक्रममा नियमित नाचिने गीत हो। गायक सुनिधि चौहानको स्वर रहेको यो गीतको अडियो जुकेबक्समा गीतकार बाबुराम ढकालको नाम त राखिएको छ तर संगीतकारको नाम भने उल्लेख गरिएको छैन।
लामाका अनुसार, ‘आफूलाई नचिन्दा कहिलेकाहीँ अलिकति दुःख त लाग्दै रैछ। आफूले कति मेहनत गरेर गीत सिर्जना गरिएको हुन्छ। कतिपय कार्यक्रममा यो गीतको संगीतकार म हो नि भन्नुपर्ने अवस्था छ।’
उनी थप्छन्, ‘जुन गीत मैले सिर्जना गरेँ, त्यो कतै बिहे भोजमा बजिरहेको हुन्छ। तर कसैले यो गीतको संगीतकार यहीँ हुनुहुन्छ भनेर भन्दैनन्। चिनेको भए माया पनि गर्थे कि जस्तो लाग्छ।’
आफू प्रचार प्रसार गर्न नजान्नाले चर्चामा आउन गाह्रो हुने उनी बताउँछन्। ‘मैले मेरो नाम बेच्न जानेको पो हो कि ? प्रचार गर्न नजानेको हो कि ? मलाई चाहिँ राम्रो सिर्जना गर्नु पर्छ भन्ने लाग्छ। तर, के गर्ने, श्रोताले चिन्दैनन्,’ उनले भने। ‘दर्शकले चिन्नका लागि त हिरो बन्नु पर्ने रहेछ,’ उनले मुस्कुराउँदै भने।
यस्तै, एक दशकअघि आएको ‘घोले बाख्रो खोई भन हो झम्के गुलेली’ बोलको गीत पनि लोकप्रिय भयो। हास्य कलाकारहरूले यसैमा प्यारोडी गीतसमेत बनाए। तर यसको सर्जक तथा गायक कमलीकान्त भेटवाल भने आज पनि ओझेलमै छन्।
नेतालाई व्यंग्य हान्ने यो गीत गाएर मनोज गजुरेल चर्चामा आए, तर भेटवाललाई आफ्नै गाउँका मान्छेले समेत चिन्दैनन्। एकपटक घर जाँदा ‘यो गीत मैले गाएको हो नि’ भन्दै बताउनु परेको अनुभव उनले उकेरासँग बाँडे। ‘घर जाँदा चिन्नेजान्नेकालाई समेत आफूले यो गीत गाएको हो नि भन्दै हिड्नु परेको थियो,’ उनले भने। अहिले पनि उनीलाई कसैले चिन्दैनन्। दर्जनौं गीतमा शब्द, संगीत र स्वर दिएका उनी आज पनि छायाँमै छन्।
एसडी योगी, प्रशान्त सिवाकोटी, अष्ट लामा, कमलीकान्त भेटवाल मात्र होइन, यस्ता थुप्रै सर्जक छन् जसका गीत चलेका छन्, तर उनीहरू आफैं भने ओझेलमै छन्।
जेठ २४, २०८२ शनिबार १८:२४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।