असार १५ गतेभित्रै शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित हुने शिक्षामन्त्री पन्तको दाबी

असार १५ गतेभित्रै शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित हुने शिक्षामन्त्री पन्तको दाबी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ आगामी असार १५ गतेभित्र संघीय संसदको प्रतिनिधिसभाबाट पारित हुने दाबी गरेका छन्।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य तथा समन्वय समूहले आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै उनले शिक्षा विधेयक पारित गर्न मन्त्रालयले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए।

‘शिक्षा विधेयकमा सबैका जायज माग समेटिन्छन्, सोहीअनुसार प्रक्रिया अघि बढिरहेको छ,’ मन्त्री पन्तले भने, ‘असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विधेयक पास हुन्छ।’

उनका अनुसार शिक्षकका माग समेट्ने गरी दरबन्दी मिलान तथा विद्यालय गाभ्ने जस्ता विषयमा समेत मन्त्रालयले काम गरिरहेको छ।

विगतमा सरकार र शिक्षकबीच भएका सहमति शिक्षा विधेयकमा समेट्ने प्रयास भइरहेको भन्दै पन्तले भने, ‘समयअनुसार कानुन संशोधन गर्दै जानुपर्छ, युगको माग अनुसार समायोजन आवश्यक छ।’

संविधानको मर्म र अर्थतन्त्रले थेग्न सक्ने ढंगमा मात्रै माग सम्बोधन गरिने स्पष्ट पार्दै उनले नौ बुँदे सहमति आगामी साउनदेखि लागू हुने जानकारी पनि दिए। ‘मैले त्यो दिनै भनेको थिएँ-नौ बुँदे सहमति नगद हो,’ उनले भने, ‘शिक्षकहरूको जायज माग अवश्य सम्बोधन हुन्छ।’ 

बाल विकाससम्बन्धी नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पन्तले प्रारम्भिक बाल विकासलाई शिक्षा प्रणालीमा कसरी समावेश गर्ने भन्ने विषयमा प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे। कृषिउपज, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले बालबालिकाको प्रारम्भिक विकाससँगै अन्य क्षेत्रलाई पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

त्यसैगरी, नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रारम्भिक बाल विकासका लागि छुट्टै ऐनको आवश्यकता रहेको भन्दै शिक्षामन्त्रीको ध्यानाकर्षण गराए।

जेठ २४, २०८२ शनिबार १६:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।