बैंगलोर भागदौड प्रकरण : कर्नाटक क्रिकेटका सचिव र कोषाध्यक्षको राजीनामा, आरसीबीका मार्केटिङ प्रमुख पक्राउ

एजेन्सी : रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल)काे उपाधि जितेपछिको विजय परेडका क्रममा भएको भागदौडको नैतिक जिम्मेवारी लिँदै कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का सचिव ए शंकर र कोषाध्यक्ष ईएस जयरामले आफ्नो पदबाट राजीनामा दिएका छन्।
गत जुन ४ मा बैंगलोरको एम चिन्नास्वामी रंगशाला बाहिर भएको सो भागदौडमा ११ जनाको मृत्यु भएको थियो। शंकर र जयरामले बिहीबार राति केएससीए अध्यक्षलाई संयुक्त रूपमा राजीनामा बुझाएको जानकारी दिएका छन्।
उनीहरूले विज्ञप्ति जारी गर्दै ‘अप्रत्याशित र दुर्भाग्यपूर्ण घटना’का कारण राजीनामा दिएको बताए पनि घटनामा आफ्नो भूमिका ‘धेरै सीमित’ रहेको दाबी गरेका छन्।
कर्नाटक सरकारले भागदौडको घटनापछि केएससीए, आरसीबी र कार्यक्रम व्यवस्थापन कम्पनी डीएनए इन्टरटेनमेन्ट नेटवर्क विरुद्ध एफआईआर दर्ता गरी सम्बन्धित अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको थियो।
यसपछि, केएससीएका अध्यक्ष रघुराम भट, सचिव ए शंकर र कोषाध्यक्ष ईएस जयरामले आफूहरू विरुद्धको एफआईआर रद्द गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। कर्नाटक उच्च अदालतले उनीहरूलाई जुन १६ मा अर्को सुनुवाइ नभएसम्म पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
केएससीएले उच्च अदालतमा दिएको निवेदनमा चिन्नास्वामी रंगशाला बाहिरको गेटमा भीड व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी आरसीबी र कार्यक्रम व्यवस्थापन कम्पनीको भएको जिकिर गरेको थियो।
यसैबीच, घटनाको छानबिनका क्रममा शुक्रबार बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसालेसहित कार्यक्रम व्यवस्थापन कम्पनीका चार अधिकारीहरूलाई पक्राउ गरिएको थियो। अदालतले उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
सोसालेमाथि विजय परेड र समारोहको लागि नि:शुल्क पास दिने बारेमा पोस्ट गरेको आरोप छ।
यसका अलावा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले आफ्ना राजनीतिक सचिव के. गोविन्दराजलाई बर्खास्त गरेका छन्। बेंगलुरुका एडीजीपी इन्टेलिजेन्स हेमन्त एम निम्बलकरलाई सरुवा गरिएको छ।
भागदौडमा घाइते भएका २५ वर्षीय रोलन गोम्सले क्युबन पार्क प्रहरी चौकीमा आरसीबी, केएससीए र डीएनए एजेन्सी विरुद्ध एफआईआर दर्ता गराए। सामाजिक कार्यकर्ता स्नेहमयी कृष्णाले कर्नाटकका मुख्यमन्त्री सिद्धरामैया र उपमुख्यमन्त्री डीके शिवकुमारविरुद्ध उजुरी दिएकी छन्।
बेंगलुरु प्रहरीले आरसीबीका वरिष्ठ मार्केटिङ प्रमुख निखिल सोसाले र कार्यक्रम व्यवस्थापन कम्पनीका तीन अधिकारीहरू- किरण, सुमन्त र सुनील म्याथ्यूलाई पक्राउ गरेको छ।
आरसीबीका मार्केटिङ प्रमुख निखिललाई दुबई जाँदै गर्दा बेंगलुरु विमानस्थलबाट पक्राउ गरिएको थियो। उनले आफ्नो गिरफ्तारीलाई उच्च अदालतमा चुनौती दिएका छन्। उनको मुद्दाको सुनुवाइ सोमबार हुनेछ।
जेठ २४, २०८२ शनिबार १४:१३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।