सामन्थाको ट्याटु चर्चामा, पूर्व पतिसँग जोडिएको ‘ये माया चेसावे’को नाम हटाइन्

सामन्थाको ट्याटु चर्चामा, पूर्व पतिसँग जोडिएको ‘ये माया चेसावे’को नाम हटाइन्

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय विभिन्न कारणले चर्चामा छिन्। विशेषगरी पूर्व पति नागा चैतन्यसँग सम्बन्धित ट्याटु हटाएपछि उनी पुनः चर्चामा आएकी हुन्।

यो ट्याटु उनको डेब्यू फिल्म 'ये माया चेसावे' को नाममा थियो, जहाँबाट सामन्था र नागा चैतन्यको प्रेमकथा सुरु भएको थियो। हालै सामन्थाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन्।

यो भिडियो हेरेर उनका फ्यानहरूले कम्मरको माथिल्लो भागमा रहेको उक्त ट्याटु हटाइसकेको अनुमान गरेका छन्।

सामन्थाले भिडियोको क्याप्सनमा ‘लुकाउन केही छैन’ लेखेकी छिन्, जसलाई धेरैले उनी आफ्नो जीवनमा अगाडि बढेको सङ्केतका रूपमा लिएका छन्। 

यस भिडियोमा फ्यानहरूले ट्याटु साँच्चै हटाइएको हो वा मेकअपले छोपिएको हो भन्ने विषयमा विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

निर्देशक राज निदिमोरुसँगको सम्बन्धको चर्चा
यसबाहेक, सामन्था निर्देशक राज निदिमोरुसँगको सम्बन्धका कारण पनि चर्चामा छिन्।

सामन्था र राजले ‘द फेमिली म्यान’ र ‘सिटाडेल : हनी बन्नी’ जस्ता सफल प्रोजेक्टहरूमा सँगै काम गरेका छन्। उनीहरूलाई एक पिकलबल प्रतियोगितामा सँगै देखिएपछि उनीहरूको सम्बन्धबारे अड्कलबाजी सुरु भएको थियो।

सामन्थाले हालै सामाजिक सञ्जालमा राजसँगका केही तस्बिरहरू सेयर गरेकी थिइन्, जसलाई कतिपय प्रयोगकर्ताहरूले उनीहरूको सम्बन्धको पुष्टि मानेका छन्।

यद्यपि, राज वा सामन्था कसैले पनि आफ्नो सम्बन्धबारे आधिकारिक रूपमा केही बताएका छैनन्।

जेठ २४, २०८२ शनिबार १३:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।