डा. सन्तोष साहको उपचार अनुभव : आमाले जन्मिने बित्तिकै छोडेकी ती बालिका ‘करेट’ सर्पले डसेपछि...

डा. सन्तोष साहको उपचार अनुभव : आमाले जन्मिने बित्तिकै छोडेकी ती बालिका ‘करेट’ सर्पले डसेपछि...

डा. सन्तोष साह जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम) विशेषज्ञ हुन्। विशेषगरी दुर्गमका बिरामीको उपचारमा केन्द्रित उनको अनुभव अविस्मरणीय छ।

सीमित स्रोतसाधनका बाबजुद गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन उनी निरन्तर खटिन्छन्। पेशाको सिलसिलामा उनले देखे भोगेका केही मार्मिक र चुनौतीपूर्ण क्षणहरू उकेरासँग साटेका छन्:

आमाले जन्मिनेबित्तिकै छोडेकी ती बालिकालाई ‘करेट’ सर्पले टोक्दा...
सर्पले टोकेर गम्भीर अवस्थामा पुगेकी एक बालिकाको ज्यान बचाएको प्रसंग डा. सन्तोष कहिल्यै भुल्न सक्दैनन्। केही समयअघि उदयपुरको कटारी अस्पतालमा करिब ११ वर्षकी एक बालिकालाई ‘करेट’ जातको विषालु सर्पले टोकेपछि ल्याइएको थियो। अस्पताल पुग्दा उनी अर्धचेतन अवस्थामा थिइन् र श्वास फेर्न उनलाई निकै गाह्रो भइरहेको थियो।

डा. सन्तोष र उनको टोलीले तत्काल सर्पको विषको असर कम गर्न एन्टीभेनम औषधि दियो र अक्सिजन सपोर्टमा राख्यो। तर, उनको अवस्थामा सुधार आएन। बालिकालाई बचाउन कठिन हुने जोखिम बढ्दै गयो। त्यसपछि चिकित्सकको टोलीले भेन्टिलेटर सपोर्टमा राखेर घाँटीबाट पाइपमार्फत श्वास फेराउने निर्णय गर्यो।

चिकित्सकको अथक प्रयासपछि बालिकाले बिस्तारै श्वास फेर्न थालिन्। २४ घण्टापछि बल्ल उनी होसमा आइन् र राम्रोसँग श्वास फेर्न सक्ने भइन्। त्यसपछि उनलाई भेन्टिलेटरबाट निकालियो। भाग्यवश, ती ११ वर्षीया बालिकाको ज्यान जोगियो।

​​​​​​​ज्यान जोगिएपछि होसमा आएकी बालिकाको आँखाबाट आँसु बगेको देख्दा डा. सन्तोष भावुक भए। सोधीखोजी गर्दा थाहा भयो- उनलाई आमाबुवाले शिशु अवस्थामै छोडेका रहेछन् र आफन्तले हुर्काएका रहेछन्।

आमाबुवाको न्यानो काखको अनुभव गर्न नपाएकी उनको अवस्थाबारे थाहा पाएर डा. सन्तोषको मन अमिलो भयो। आमाबुवाविहीन उनको भविष्यप्रति चिन्तित भए। तर, यस्तो विषम परिस्थितिमा पनि उनको ज्यान बचाउन सकेकोमा उनलाई असीम सन्तुष्टि मिल्यो। तीन दिनको उपचारपछि बालिका पूर्ण रूपमा ठीक भइन् र उनलाई डिस्चार्ज गरियो।

फोक्सोमा हावा भरिएर मृत्युको मुखमा पुगेका ती बाजे
एक जना बाजेको जीवन बचाएको अर्को प्रसंग पनि डा. सन्तोषको मानसपटलमा ताजै छ। साढे दुई वर्षअघि कटारी अस्पतालमा करिब ६८ वर्षका एक जना पुरुषलाई श्वास फेर्न गाह्रो भएर ल्याइएको थियो। उनी अर्धचेतन अवस्थामा पुगिसकेका थिए।

स्वास्थ्य परीक्षण गर्दा उनलाई दमको समस्याका साथै फोक्सो र छातीको भित्री भागबीच रहेको ‘प्लुरल क्याभिटी’ मा हावा भरिएको (न्युमोथोराक्स) पत्ता लाग्यो। तत्काल फोक्सोको झिल्लीमा भरिएको हावा ननिकालिए ज्यानै जान सक्ने अवस्था थियो। आधा घण्टा मात्रै ढिला भए पनि बचाउन मुस्किल हुने डा. सन्तोषले बुझे।

त्यहाँ स्रोतसाधन सीमित थियो। अन्य अस्पतालमा रिफर गर्दा बिरामी अस्पताल पुग्नुअघि नै मृत्यु हुने जोखिम देखेर डा. सन्तोषको टोलीले तत्काल छातीमा प्रक्रिया गरेर जमेको हावा निकाल्ने निर्णय गर्यो। केही बेरको प्रयासपछि हावा निकाल्न सफल भयो र ती पुरुषको स्वास्थ्यमा सुधार आयो।

थप स्वास्थ्य जाँचका लागि उनलाई डा. सन्तोषकै सल्लाहमा काठमाडौं पठाइयो। मेडिसिटी अस्पतालमा उपचारपछि त्यहाँका चिकित्सकले ‘कटारीका डाक्टरले तत्काल हावा ननिकालिदिएको भए ज्यानै जाने थियो’ भनिदिएछन्। त्यसपछि ती ६८ वर्षीय पुरुषले आफूले दोस्रो जीवन पाएको महसुस गरे।

काठमाडौंबाट फर्किएपछि ती पुरुष एक बट्टा घिउ बोकेर ज्यान बचाइदिने डा. सन्तोषलाई धन्यवाद दिन कटारी अस्पताल पुगे।

उनले भने, ‘डाक्टरसाप, तपाईंले मलाई दोस्रो जीवन दिनुभयो। यो घिउ कोसेली ल्याएको छु।’

कोसेलीका रूपमा घिउ लिन डा. सन्तोषलाई अप्ठ्यारो लाग्यो तर बिरामीको स्नेहलाई सम्मान गर्दै उनले स्वीकार गरे। मृत्युको मुखमा पुगेका ती पुरुषलाई बचाएको त्यो क्षण सम्झँदा अझै उनलाई सन्तुष्टि मिल्छ।

प्रसव पीडाले छटपटिएकी महिला र बच्चाको जीवन रक्षा
बच्चा जन्माउन नसकेर जटिल अवस्थामा पुगेकी एक महिला र उनको बच्चाको ज्यान बचाएको प्रसंग पनि डा. सन्तोष कहिल्यै भुल्दैनन्। करिब एक वर्षअघि करिब २८ वर्षकी एक गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेर कटारी अस्पताल ल्याइएको थियो।

उनको जाँच गर्दा गर्भको बच्चाले सालको पानीमा दिसा (मेकोनियम) गरेको र मुटुको धड्कन अनियमित भएको पाइयो। अवस्था जटिल थियो। शल्यक्रिया (सिजेरियन सेक्सन) आवश्यक थियो तर अस्पतालमा एनआईसीयूको सुविधा थिएन र रगतको आवश्यकता परेमा ब्लड बैंक नहुनु अर्को चुनौती थियो।

डा. सन्तोषको टोलीले उपलब्ध सुविधा र शल्यक्रियापछिका जोखिमबारे परिवारलाई जानकारी दियो। तर, महिलाका परिवारले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने र यहाँ भएन भने घरै फर्किने बताए। उनीहरूको कुरा सुनेर डा. सन्तोषको मन छोयो।

उनले सोचे, ‘मैले उपचार गरिनँ भने महिला र बच्चा दुवैको ज्यान जान सक्छ।’

परिवारले अन्य विकल्प नदेखाएपछि डा. सन्तोषको टोलीले जोखिम मोलेरै भए पनि त्यहीँ शल्यक्रिया गर्ने निर्णय गर्यो। सबै तयारीपछि सुत्केरी महिलाको शल्यक्रिया गरियो। शल्यक्रिया सफल भयो, बच्चा सुरक्षित जन्मियो र महिलालाई रगत दिनुपरेन।

​​​​​​​

​​​​​​​ती महिलाका यसअघि चारवटी छोरी रहेछन्। यो उनको पाँचौं सन्तानका रुपमा छोरा जन्मिएका थिए। आमा र बच्चा दुवैको ज्यान जोगियो। तीन दिन अस्पताल बसेपछि ती महिला पाँचौं सन्तानका रुपमा जन्मिएको छोरा च्यापेर खुसी हुँदै डिस्चार्ज भइन्।

उनी अझै पनि बेलाबेलामा बच्चालाई लिएर अस्पताल आउने गरेको डा. सन्तोषले सुनाए। सीमित स्रोतसाधनका बाबजुद पनि जोखिमपूर्ण अवस्थामा आमा र बच्चा दुवैको जीवन बचाउन सफल भएकोमा डा. सन्तोषलाई निक्कै खुसी लाग्छ।

जनकपुरमा जन्म र डाक्टर बन्ने सपना
डा. सन्तोषको जन्म जनकपुरको वडा नम्बर-१९ मा भएको हो। उनले स्थानीय मुनलाइट इङ्लीस बोर्डिङ स्कुलबाट २०६२ मा एसएलसी र जनकपुरकै एसएम क्याम्पसबाट २०६५ मा प्लस टु उत्तीर्ण गरे।

सानैदेखि डाक्टर बन्ने सपना बोकेका सन्तोषले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेर सन् २००९ मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भए। सन् २०१५ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि काठमाडौंको धापाखेलस्थित सुमेरु अस्पतालमा दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।

छात्रवृत्तिमा दुर्गमका बिरामी बचाउने विषयको अध्ययन
थप अध्ययनको योजना बनाएका डा. सन्तोषले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम)’ विषय छनोट गरे। ‘फ्यामिली मेडिसिन’का नामले पनि चिनिने यो विधाले सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीको प्राथमिक उपचार र व्यवस्थापनमा जोड दिन्छ।

एमडीजीपीईएम अध्ययन गरेका चिकित्सकको विशेषगरी दुर्गमका जिल्लामा रोग पहिचान र उपचारका लागि महत्वपूर्ण भूमिका हुन्छ। उनीहरूलाई दुर्गमका बिरामीलाई मृत्युबाट बचाउने चिकित्सकका रूपमा समेत चिनिन्छ।

​​​​​​​

सरकारी छात्रवृत्तिमा एमडीजीपीईएम अध्ययन गर्ने अवसर पाएका डा. सन्तोष सन् २०१९ मा सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए र सन् २०२२ मा अध्ययन पूरा गरे।

छात्रवृत्ति सम्झौता अनुसार अनिवार्य सेवा गर्नुपर्ने नियम अनुसार उनी उदयपुरको कटारी अस्पतालमा पुगे। दुई वर्षको सेवा अवधिमा कटारी अस्पताल र त्यहाँका बासिन्दासँग भावनात्मक सम्बन्ध बनेकाले छात्रवृत्ति करार सकिएपछि पनि उनलाई अन्यत्र जान मन लागेन। डा. सन्तोष हाल कटारी अस्पतालमा नै करार सेवामा कार्यरत रहेर दुर्गमका बिरामीको सेवा गरिरहेका छन्।

जेठ २४, २०८२ शनिबार ११:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।