काठमाडौं महानगरको न्यायिक समितका आधा भन्दा बढी उजुरी- ‘घर खाली गराइपाऊँ’

काठमाडौं : काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा आउने उजुरी तथा विवादहरूमध्ये घर तथा भवन खाली गराइपाऊँ भन्ने प्रकृतिका उजुरी सबैभन्दा बढी रहेको पाइएको छ।
महानगरकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुनिता डङ्गोलका अनुसार, न्यायिक समितिमा दर्ता हुने कुल विवादमध्ये करिब ५० प्रतिशत घर खाली गराउनेसँग सम्बन्धित छन्।
घर खाली गराउनेसम्बन्धी ती विवादमध्ये पनि करिब ५० प्रतिशत सहकारी संस्थाहरूसँग जोडिएका छन्। सहकारी संस्थाहरूसँग सम्बन्धित घर खाली गराउने विवादमा मुख्यतः समयमा भाडा नतिरेको, बहाल कर छली गरेको, सहकारीको कारण घरमा क्षति पुगेको र त्यसको क्षतिपूर्तिसहित घर खाली गराइपाऊँ भन्ने रहेका छन्।
यसैगरी, घरधनीको बचत सहकारीमा फसेको अवस्थामा बचत रकम र भाडासमेत उपलब्ध गराई सहकारीलाई हटाउन माग गर्ने, बन्द भएका सहकारीको कार्यालयमा घरधनीले ताला लगाएपछि कार्यालय सञ्चालनमा सहजीकरण गरिपाऊँ भन्ने तथा बहाल कर कम तिर्नका लागि गरिएका दोहोरो सम्झौता खारेजी र बहाल कर असुलीसँग सम्बन्धित उजुरी पनि बढी आउने गरेका छन्।
उपप्रमुख डङ्गोलले लामो समयदेखि बन्द रहेका वा समस्याग्रस्त सहकारीहरूको समाधानका लागि अधिकारसम्पन्न संयन्त्र आवश्यक रहेको बताइन्। विगतमा भएका समस्या नदोहोरिनका लागि तत्कालै रोकथामका कार्यक्रमहरू थाल्नुपर्नेमा उनले जोड दिइन्। वित्तीय व्यवस्थापनसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गरी आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न सकिने पनि उनले बताइन्।
महानगरको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेसम्बन्धी गुनासो बढ्नुका मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु वा गरे पनि शर्तहरू स्पष्ट नहुनु, बहाल कर छल्नका लागि बहाल रकम कम देखाउने वा दोहोरो सम्झौता गर्नुजस्ता समस्या मुख्य रहेको बताए।
सहकारीसँग सम्बन्धित विवादमा भने समयमा भाडा नतिर्नु, बहाल कर कसले तिर्ने भन्ने सम्झौतामा स्पष्ट नहुनु वा सहकारीले कर नतिर्नु, सहकारी समस्यामा परेको जानकारी घरधनीलाई समयमै नहुनु र बन्द भएपछि पदाधिकारीसँग सम्पर्क हुन नसक्नुजस्ता कारणहरू प्रमुख रहेको उनले बताए।
जेठ २४, २०८२ शनिबार ११:२१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।