पाहुना लाग्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

झापा : अर्जुनधारा नगरपालिका-११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा-११ मा पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।
बिहान करिब ८ बजेतिर दुवै बालक पौडी खेल्नका लागि सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। उनीहरू डुबेको थाहा पाएपछि स्थानीय बासिन्दाले उद्धार गरी तत्काल उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याएका थिए।
तर, हस्पिटलमा पुर्याइए लगत्तै बिहान ८ः३० बजेतिर चिकित्सकहरूले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए।
हाल दुवै बालकको शव परीक्षणका लागि हस्पिटलमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २४, २०८२ शनिबार १०:५२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।