कालोपत्र हुँदै मार्फा-जोमसोम सडक

कालोपत्र हुँदै मार्फा-जोमसोम सडक

मुस्ताङ : लामो समयदेखि रोकिएको मुस्ताङको मार्फा-जोमसोम सडक खण्डमा कालोपत्र गर्ने काम तीव्र रूपमा अघि बढेको छ।

उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक आयोजना अन्तर्गत पर्ने यस खण्डमा गत हप्ताबाट कालोपत्र सुरु भएको हो।

कुल ७४ किलोमिटर लामो बेनी-जोमसोम सडकको कोवाङदेखि जोमसोमसम्मको खण्ड निर्माणको जिम्मा लिएको पप्पु-गौरी पार्वती, कोशी एण्ड न्यौपाने जेभीले ९० प्रतिशत भौतिक प्रगति पूरा गरे पनि काम अलपत्र छाडेको थियो।

ठेकेदार कम्पनीको ढिलासुस्ती र कार्यसम्पादन प्रभावकारी नहुँदा यो खण्डमा लामो समय काम रोकिएको थियो। तर, अहिले चालु आर्थिक वर्षको अन्त्यतिर कम्पनी फेरि काममा फर्किएको छ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार, कोवाङ-जोमसोम सडक खण्डको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ। उनका अनुसार, कोवाङदेखि टुकुचे र टुकुचेको सिरान टोलदेखि मार्फासम्मको खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ।

यस्तै, जोमसोम कालिपुलदेखि पुथाङ विमानस्थलसम्मको खण्डमा पनि आरसीसी र कालोपत्रको काम पूरा भएको छ। अब कोवाङ-जोमसोम खण्डको बाँकी रहेको मार्फा-जोमसोमबीचको करिब ४ किलोमिटर सडकमा कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो सडकखण्ड अधुरै रहँदा स्थानीयवासीबाट आलोचना खेप्नुपरेको गुनासो गरे।

मार्फा-जोमसोम खण्डको कालोपत्र सम्पन्न भएपछि मुस्ताङको घाँसादेखि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथसम्मको सडक सञ्जाल पूर्ण रूपमा जोडिनेछ।

जेठ २४, २०८२ शनिबार १०:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।