अमेरिकाको भर्जिनियामा दुई सन्तानसहित चार नेपाली मृत भेटिए, ‘हत्यापछि आत्महत्या’को आशंका

अमेरिकाको भर्जिनियामा दुई सन्तानसहित चार नेपाली मृत भेटिए, ‘हत्यापछि आत्महत्या’को आशंका
मृतक सन्तोष र अञ्जुको परिवार बसेको घर आसपासको क्षेत्र

एजेन्सी : संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेको मनासस पार्क शहरमा एक नेपाली मूलको परिवारका चार जना सदस्य मृत अवस्थामा फेला परेका छन्। स्थानीय प्रहरीले यो घटनालाई ‘हत्यापछि आत्महत्या’ भएको आशंकामा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।

मनासस पार्क प्रहरी विभागले जारी गरेको विज्ञप्ति अनुसार, जुन ५, २०२५ को राति करिब १०:४० बजे घटनाको जानकारी प्राप्त भएको थियो। एक घरधनीले आफ्ना भाडावालहरूको अवस्था बुझ्न प्रहरीलाई आग्रह गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तल्लामा रहेको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनालाई मृत फेला पारेका थिए। मृत फेला पर्नेहरूमा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अन्जु श्रेष्ठ तथा उनीहरूका २ वर्षीय छोरा र एक ८ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मृत फेला परेका सबैको शरीरमा गोली लागेको स्पष्ट चोट देखिएको थियो। घटनास्थलबाट एउटा बन्दुक समेत बरामद गरिएको प्रहरी विभागले पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धान र घटनास्थलको अवस्था हेर्दा प्रहरीले यस घटनालाई परिवारभित्रकै सदस्यले अन्यको हत्या गरी पछि आफैँले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ।

चारै जनाको शवलाई परीक्षणका लागि मनाससमा रहेको मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। मनासस पार्क प्रहरी विभागले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र थप विवरण समयमै सार्वजनिक गरिने बताएको छ।

यो घटनाले अमेरिकामा बस्ने नेपाली समुदायमा गहिरो दुःख र चिन्ता पैदा गरेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको छ।

जेठ २४, २०८२ शनिबार ०९:५७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।