ग्लोबल आइएमई बैंकको वातावरण दिवसमा देशव्यापी वृक्षारोपण अभियान, १८ हजार बिरुवा रोप्ने लक्ष्य

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसर पारेर देशभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विश्व वातावरण दिवसका अवसरमा वृहत् वृक्षारोपण अभियान सञ्चालन गरेको छ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले बैंकले बिहीबार देशभरका विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको हो।
यसै क्रममा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीचुहाँ नगरपालिकाको बालचौरमा आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १,००० कागतीका बिरुवा रोपिए।
सो अवसरमा स्थानीय जनप्रतिनिधि, बासिन्दा र बैंकका कर्मचारीको उल्लेख्य सहभागिता थियो। यसैगरी, काठमाडौंको नारायणहिटी आर्मी ब्यारेक परिसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थितिमा ३०० वटा बिरुवा रोपियो।
बैंकले यस अभियान अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरूमा गरी कुल १७ हजार ४३६ बिरुवा रोपेको छ। जसमध्ये कोशीमा तीन हजार सात सय, मधेशमा पाँच हजार ५०, बागमतीमा दुई हजार तीन सय, गण्डकीमा दुई हजार एक सय, लुम्बिनीमा एक हजार पाँच सय, कर्णालीमा सात सय र सुदूरपश्चिममा दुई हजार ८६ बिरुवा समावेश छन्।
बैंकले शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यालय, अस्पताल परिसर तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको थियो।
स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको यस कार्यले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र स्थानीयको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
जेठ २४, २०८२ शनिबार ०९:०३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।