टी-२० विश्वकप पुरस्कार रकम विवाद : ओमानका खेलाडी टोलीबाट बाहिर, देश छाड्न बाध्य

टी-२० विश्वकप पुरस्कार रकम विवाद : ओमानका खेलाडी टोलीबाट बाहिर, देश छाड्न बाध्य

एजेन्सी : ओमान राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पाउनुपर्ने पुरस्कार रकमलाई लिएर बोर्डसँगको विवादका कारण राष्ट्रिय टोलीबाट बाहिरिनुका साथै देश नै छाड्न बाध्य भएका छन्।

गत वर्षको टी-२० विश्वकपमा सहभागी भएबापत आईसीसीले दिएको पुरस्कार रकम ओमान क्रिकेटले खेलाडीलाई नदिएपछि यो अवस्था आएको हो।

ओमानका शीर्ष क्रमका ब्याट्सम्यान कश्यप प्रजापति पनि यस विवादबाट प्रभावित भएका प्रमुख खेलाडीमध्ये एक हुन्। गत वर्ष यसै समयमा टी-२० विश्वकपमा खेलेका प्रजापति अहिले अमेरिकामा आफ्नो भविष्य खोजिरहेका छन्।

ओमान क्रिकेटसँगको पुरस्कार रकम विवादका कारण उनलाई राष्ट्रिय सेट-अपबाट हटाइएको छ र देश छाड्न बाध्य पारिएको छ।

प्रजापति मात्र होइन, उक्त विश्वकप खेलेका ओमानका झन्डै पूरै टोली अहिले राष्ट्रिय टोलीको हिस्सा छैनन् र धेरै खेलाडी अन्य देश पलायन भएका छन्। यसको जड हो- आईसीसीले प्रतियोगितामा १३औं देखि २०औं स्थानमा रहने टोलीका लागि छुट्याएको २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार रकम ओमान क्रिकेटले खेलाडीहरूलाई वितरण नगर्नु।

आईसीसीले उक्त प्रतियोगिताका लागि कूल १ करोड १२ लाख ५० हजार डलरको कीर्तिमानी पुरस्कार राशि घोषणा गरेको थियो, जसमध्ये विजेताले २४ लाख ५० हजार डलर पाएको थियो।

वर्ल्ड क्रिकेटर एसोसिएसनका अनुसार, उक्त प्रतियोगितामा सहभागी धेरै बोर्डले आफ्ना खेलाडीलाई पूरा पुरस्कार रकम दिएका छैनन्। ओमानको अवस्था यस मामिलामा सबैभन्दा खराब छ, जहाँ १५ सदस्यीय टोलीलाई २ लाख २५ हजार डलरमध्ये एक पैसा पनि दिइएको छैन।

कश्यप प्रजापतिले ईएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा भनेका छन्, ‘यस विषयले हाम्रो जीवन उथलपुथल पारेको छ। हामीले टोलीमा स्थान गुमायौं, सम्झौता रद्द गरियो र देश छाड्न बाध्य भयौं। हामीले कमाएको पुरस्कार रकम पाउन आईसीसीले किन सुनिश्चित गर्न सक्दैन? र, हामीले आफ्ना कुरा उठाउँदा टिमबाट किन निकालिनुपर्यो?’

आईसीसीको नियम अनुसार, सदस्य बोर्डले प्रतियोगिता सकिएको २१ दिनभित्र आईसीसीबाट प्राप्त पुरस्कार रकम खेलाडीलाई दिनुपर्दछ। आईसीसीले उक्त रकम ओमान क्रिकेटलाई पठाइसकेको पुष्टि गरे पनि त्यो खेलाडीसम्म पुगेको छैन।

प्रजापतिका अनुसार, मिडियामा पुरस्कार राशिको चर्चा नभएको भए खेलाडीहरूले आफूले पाउनुपर्ने रकमबारे थाहै नपाउने थिए। उनले सन् २०२१ को विश्वकपको पुरस्कार रकम पनि नपाएको दाबी गरेका छन्।

प्रजापति र टोलीका अन्य दुई सदस्यका अनुसार, खेलाडीहरूले विश्वकपपछि टोली व्यवस्थापन र बोर्डसँग धेरै पटक पुरस्कार रकमबारे कुरा उठाए। विश्वकप सकिएको तीन महिनापछि क्यानडामा भएको त्रिकोणीय सिरिजका क्रममा पनि यो विषय उठ्यो।

यस सिरिजमा सहभागी नेपाल र क्यानडाका खेलाडीहरूले आफूहरूले केही कठिनाइपछि भए पनि पुरस्कार पाएको बताएपछि ओमानका खेलाडीहरू थप सचेत भए।

वर्ल्ड क्रिकेटर एसोसिएसनका अनुसार, अन्य एसोसिएट राष्ट्रका खेलाडीहरूले पनि २० देखि ७० प्रतिशतसम्म मात्र रकम पाएका छन्। ओमानका खेलाडीहरूले कुरा उठाउँदा उनीहरूलाई खेलमा ध्यान दिन र विषयमाथि विचार भइरहेको जवाफ दिइयो।

खेलाडीहरूले गत अक्टोबरमा ओमानमै भएको इमर्जिङ टिम्स एसिया कपअघि फेरि यो विषय उठाए। पुरस्कार रकमबारे स्पष्ट आश्वासन नपाए खेल्न अस्वीकार गर्नेसम्मको सामूहिक अडान उनीहरूले लिए। यहीँबाट विवाद चर्कियो।

एक बोर्ड अधिकारीले उनीहरूलाई व्यक्तिगत रूपमा खेल्ने नखेल्ने सोधे। जब उनीहरूले रकम नपाएसम्म नखेल्ने बताए, उनीहरूलाई टोलीबाट हटाउन सकिने चेतावनी दिइयो।

वरिष्ठ अधिकारीहरूसँग छलफल भए पनि अन्ततः उनीहरूलाई अल्टिमेटम दिइयो- कि खेल्नुस्, कि बोर्डले यूएईविरुद्धको पहिलो खेलका लागि अर्को टोली तयार राखेको छ। खेलाडीहरूले अस्वीकार गरे र उनीहरूलाई होटल छाड्न भनियो।

त्यसपछिका खेलहरूको स्कोरकार्ड हेर्दा टोलीमा रातारात ठूलो फेरबदल भएको पुष्टि हुन्छ। इमर्जिङ कपको पहिलो खेलमा घोषित १५ सदस्यीय टोलीका ५ जना मात्र थिए। दुई हप्ताअघि खेलेको टोलीका ४ जना मात्र यस खेलमा थिए। सबैभन्दा महत्वपूर्ण कुरा, चार महिनाअघि विश्वकप खेलेका टोलीका २ जना मात्र यूएईविरुद्धको खेलमा थिए।

यस घटनापछि धेरै खेलाडीले ओमान छाड्नुपर्यो। अधिकांश खाडी देशमा बसोबास भिसासँग जोडिएको हुँदा धेरै खेलाडीको रोजगार भिसा रद्द गरियो, जसले गर्दा उनीहरू देश छोड्न बाध्य भए।

पाँच वर्षमा ओमानका लागि ३० एकदिवसीय र ४७ टी-२० खेलेका फय्याज बटले भने, ‘यो मेरो करियर र व्यावसायिक रूपमा ठूलो क्षति हो। मलाई ओमान छाड्नुपर्यो। म अहिले काम गरिरहेको छैन, तर हाम्रो क्रिकेट करियर अब सकियो।’

ओमानमा खेलाडी संघ नभए पनि क्यानडा र नेपालका खेलाडीमार्फत वर्ल्ड क्रिकेटर एसोसिएसनले थाहा पाएपछि उनीहरूको समस्या बाहिर आयो। एसोसिएसनका अनुसार, एसोसिएट देशका बोर्डहरूले खेलाडीलाई पर्याप्त जानकारी नदिनु र धम्क्याएर वा आंशिक रकम दिएर विवाद सामसुम पार्न खोज्नु यस्ता समस्याको मुख्य कारण हो।

आईसीसी यस विषयमा सहयोगी रहे पनि बोर्डलाई भुक्तानी नगरेबापत दण्डित गर्ने स्पष्ट संयन्त्र नहुँदा कारबाही गर्न सीमित छ। एसोसिएसनले बाँकी रकम बोर्डको आईसीसी राजस्व वितरणबाट काट्नुपर्ने सुझाव दिए पनि सदस्यहरूद्वारा सञ्चालित निकायमा यो लागू हुने सम्भावना कम छ।

एक अधिकारीका अनुसार, ओमान क्रिकेटले भुक्तानी नगर्नुलाई नियतभन्दा पनि ‘गलत बुझाइ’ भन्दै आईसीसीलाई स्पष्टीकरण दिन खोजेको जनाइएको छ। ईएसपीएन क्रिकइन्फोले ओमान क्रिकेटसँग धेरै पटक सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरेको छ।

आईसीसी र एसोसिएसनले सन् २०२४ मा खेलाडीका लागि पुरस्कार रकमबारे सम्झौता गरे पनि एसोसिएसनले त्यसयता भएका तीनवटै प्रमुख आईसीसी प्रतियोगितामा खेलाडीको भुक्तानीमा समस्या देखिएको बताएको छ।

एसोसिएसनका सीईओ टम मोफ्याटले भने, ‘खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा टिकाइराख्न र खेलको भविष्य सुनिश्चित गर्न प्रयास भइरहेका बेला लगभग एक वर्षअघिका प्रमुख आईसीसी प्रतियोगितामा समेत भुक्तानी नहुने समस्या देखिनु निराशाजनक छ।

अधिकांश बोर्डले सही काम गरे पनि केहीले अझै नगर्नु चिन्ताजनक छ। यदि खेलाडीहरू सजायको डरले आफ्ना जायज मुद्दा उठाउन नसक्ने अवस्था छ भने त्यो अत्यन्तै गम्भीर हो।’

जेठ २४, २०८२ शनिबार ०८:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।