आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी, मधेश, बागमती प्रदेश र देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले जनाएअनुसार, आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली कायम रहनेछ भने बाँकी भू-भाग मुख्यतया सफा रहनेछ।
राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो र राति दुवै समयमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्छ। त्यसैले, आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
जेठ २४, २०८२ शनिबार ०७:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।