इस्लाम धर्मावलम्बी बकर ईद मनाउँदै

इस्लाम धर्मावलम्बी बकर ईद मनाउँदै
फाइल तस्बिर

आज बकर ईद मनाइँदै, देशभर रौनक
काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदैछ।

इदुल फित्रको ७०औं दिनमा मनाइने यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

यस पर्वका अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको छ। यो पर्व अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा मनाइन्छ र यो हज यात्रासँग पनि जोडिएको छ।

पर्वको मुख्य विधि अल्लाहलाई खुशी पार्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिनु हो। धार्मिक मान्यताअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी गरिब, इष्टमित्र र आफ्ना परिवारका लागि छुट्याइन्छ।

यो पर्व आजदेखि तीन दिनसम्म मनाइने र तीनै दिन कुर्बानी गरिने चलन रहेको मुस्लिम धर्म गुरुहरू बताउँछन्। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

जेठ २४, २०८२ शनिबार ०७:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।