अशोक दर्जी गायकबाट नायक, सकियो ‘मन बिनाको धन’ को छायांकन

काठमाडौं : सात वर्षअघि ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन?’ भन्ने गीतले भाइरल बनेका अशोक दर्जी फेरि चर्चामा छन्। झापाको बेलडाँगीमा गीत गाउँदै हिँडिरहेका बेला संगीतकार टंक बुढाथोकीले भेटेर पहिलोपटक स्टुडियोमा गाउने मौका दिएका थिए। त्यो गीत सुपरहिट भयो, अशोकको जीवन बदलियो। अहिले फेरि टंकले नै अशोकलाई ठूलो पर्दामा ल्याउँदैछन्।
संगीतकार टंक बुढाथोकीले निर्देशनमा हात हालेका छन्। आफ्नो लेखन र निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ मा टंकले अशोक दर्जीलाई नै लिड रोलमा लिएर छायांकन सकिसकेका छन्।
बिहीबार प्रदर्शनीमार्गको महेन्द्र पुलिस क्लबमा कन्सर्ट सिन खिचेर २८ दिन लामो छायांकन पूरा भएको घोषणा गरिएको हो। फिल्म मुस्ताङ, काठमाडौं र पोखरामै छायांकन गरिएको हो र यो तिहारको समय लक्षित गरी रिलिज गर्ने योजना बनाइए पनि औपचारिक मिति भने खुलाइएको छैन।
तर प्रश्न के छ भने- दर्शकले गायक अशोकलाई नायकको रूपमा स्वीकार गर्लान् त? त्यो सजिलो छैन। नेपाली दर्शकले विगतमा गायकहरूलाई हिरोमा खासै साथ दिएका छैनन्। उदाहरणका लागि प्रकाश सपुतको ‘वसन्त’ फिल्म नै लिऊँ- चर्चित गीतहरू दिएका प्रकाशले अभिनय गरेको त्यो फिल्म बक्स अफिसमा असफल भयो। त्यस्तै गायकबाट हिरो बनेका बाबु बोगटी, यस कुमार, रामकृष्ण ढकाल वा उदित नारायण झाजस्ता नामले पनि अभिनयमा खासै कमाल देखाउन सकेनन्।
त्यसैले अशोकको ‘हिरो’ अवतारप्रति उत्सुकता त छ, तर ग्यारेन्टी छैन। अशोक दर्जी अहिले कक्षा ९ मा पढिरहेका छन्। यस्तो उमेरमा उनलाई हिरो बनाएर टंकले सिनेमा बनाएका छन्। तर यहाँ केवल अशोकमात्र होइन, साथमा फिल्ममा सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रविन्द्र झा, रमाथपलिया, भोला सापकोटा जस्ता अनुभवी कलाकार पनि छन्। यसले फिल्मलाई अभिनयको हिसाबले केही सन्तुलन त दिनेछ, तर दर्शकको नजर अशोकमै रहने निश्चित छ।
फिल्मको कथा सामाजिक विषयमा आधारित रहेको बताइएको छ। पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्।
अशोक दर्जीको स्वर दर्शकको मन जितिसकेको छ। अब ठूलो पर्दामा उनको अभिनय कस्तो देखिन्छ, त्यसले नै तय गर्नेछ उनको भविष्य। यदि गीतझैँ अभिनयले पनि दिल जित्न सक्यो भने त अशोक साँच्चै हिरो हुनेछन्। तर, दुईवटा डुङ्गामा खुट्टा राख्दा कहिले काहीँ न यो किनारा न त्यो किनारा हुने खतरा पनि हुन्छ। अब त्यो खतरा अशोकले पार गर्छन् कि गुमाउँछन् भन्ने थाहा पाउन भने फिल्म रिलिज नै कुर्नुपर्नेछ।
जेठ २३, २०८२ शुक्रबार २१:५०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।