द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच दीर्घकालीन शैक्षिक सहकार्यका लागि समझदारी

काठमाडौं : ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज र थाइल्याण्डको कृक विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित भएको यो समझदारीअनुसार अनुसन्धान, विद्यार्थी तथा शिक्षक आदानप्रदान, र संस्थागत विकासमा दीर्घकालीन सहकार्य हुने बताइएको छ।
सम्झौतामा द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र कृक विश्वविद्यालयका अन्तर्राष्ट्रिय विभाग निर्देशक डा. चनिदापा नुनुआलभुटिवोङले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा ब्रिटिस कलेज इन्क्युबेसन सेन्टर प्रमुख गणेश पौडेल र कृक विश्वविद्यालयका दक्षिण एशियाका लागि मार्केटिङ प्रमुख धिरजकुमार शाक्यको पनि उपस्थिति थियो।
कार्यकारी निर्देशक कँडेलले पाँच वर्षका लागि मान्य हुने यो सहकार्यले संयुक्त अनुसन्धान, शैक्षिक कार्यक्रमको सहआयोजना, र अनुसन्धान अनुदानका लागि साझा आवेदनजस्ता काममा दुवै संस्था अघि बढ्ने बताए।
ब्रिटिस कलेजका अनुसार सहकार्यको दायरा समयानुसार आपसी सहमतिको आधारमा नविकरण र विस्तार गर्न सकिनेछ। दुवै संस्थाले गुणस्तरीय शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
जेठ २३, २०८२ शुक्रबार २१:१८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।