एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न ‘सीप मेला’ मा सहकार्य हुने

काठमाडौं : एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिकाबीच सीप विकास र रोजगार प्रवर्द्धनका लागि सहकार्य गर्ने औपचारिक सम्झौता भएको छ।
सम्झौता अनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा सीप मेला आयोजना गर्दैछन्। जसको मुख्य उद्देश्य व्यवहारिक सीप प्रशिक्षणमार्फत युवालाई रोजगारीतर्फ उन्मुख गराउनु हो।
हाल जेठ ७ गतेदेखि सुरु भइसकेको मेला अन्तर्गत १० प्रमुख क्षेत्रका ३७ प्रकारका सीपमूलक तालिमहरू दिइँदैछन्। मेलाले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै उद्योगलाई आवश्यक जनशक्ति जुटाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
मेलालाई अझ प्रभावकारी बनाउन सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकतामा राख्दै एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने सहमति गरेका हुन्। सम्झौतामा एमएडब्लू अर्थमुभर्सका सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमीका सीईओ महेश बिष्टले हस्ताक्षर गरे। काठमाडौं महानगरको तर्फबाट रामजी पौडेलले सम्झौतामा दस्तखत गरे।
मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्ने युवालाई एउटै थलोमा ल्याएर सीप विकास र रोजगारीबीचको दूरी घटाउने माध्यम बन्ने अपेक्षा गरिएको छ। मेलाले मर्यादित रोजगारी, आत्मनिर्भर जनशक्ति निर्माण र दिगो आर्थिक वृद्धिलाई समेत टेवा पुर्याउने लक्ष्य लिएको छ।
जेठ २३, २०८२ शुक्रबार २०:२८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।