बुढीगङ्गाको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी, दर्जन बढी पसल जले

बुढीगङ्गाको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी, दर्जन बढी पसल जले

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी भएको छ।

शुक्रबार दिउँसो एक होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आगो सल्किएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीका अनुसार आगलागीमा परी बजारका १२ भन्दा बढी पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।

सिलिण्डर किन पड्कियो भन्ने कारण अझै स्पष्ट नभएको प्रहरीको भनाइ छ। तर, हावाहुरीले आगो तीव्र गतिमा फैलिँदा नियन्त्रण गर्न निकै कठिन भइरहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयबासी जुटिरहेका छन्। आगलागीका कारण बाम्का बजार क्षेत्रको फाइबर इन्टरनेट र विद्युत् सेवा समेत अवरुद्ध भएको छ।

क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि लाखौंको नोक्सानी भएको अनुमान गरिएको छ।

जेठ २३, २०८२ शुक्रबार २०:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।