बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडक अवरुद्ध, यात्रु मर्कामा

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडक अवरुद्ध, यात्रु मर्कामा

मध्यविन्दु : लगातारको वर्षासँगै आएको बाढीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवास खोलामा बनाइएको डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

डाइभर्सन बगाउँदा सवारीसाधन रोकिएको र यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार अहिले यात्रुवाहक र साना सवारीसाधनलाई होङ्सी गेट हुँदै सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गराएर गुज्राइँदै छ भने मालवाहक सवारीसाधनलाई एक लेनमा रोकिएको छ।

खोलामा पानीको बहाव केही कम भएपछि डाइभर्सन मर्मत थाल्ने तयारी गरिएको छ।

गत पुस २६ गते भारतीय हेभी ट्रक पास गर्ने क्रममा पुरानो पुल भाँचिएपछि त्यहाँ अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो। बुटवल–नारायणगढ सडक आयोजना अनुसार विनयी खोलामा निर्माणाधीन नयाँ पुल अबको केही समयमा सञ्चालनमा ल्याइनेछ।

उता पूर्वपश्चिम राजमार्गकै अर्को खण्ड, मध्यविन्दु नगरपालिका–७ चोरमारामा चर्किएको पुल भने मर्मतपछि आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। सो पुल वैशाख २९ गते बीचबाट चर्किएको थियो। नगरप्रमुख भीमलाल अधिकारीले पुलको मर्मत सकिएर सवारी सञ्चालन सुरु भएको जानकारी दिएका छन्।

जेठ २३, २०८२ शुक्रबार १९:४१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।