सिप मेलाका लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता

काठमाडौं : एनसेल फाउन्डेसन र काठमाडौं महानगरपालिकाबीच ‘सिप मेला २०८२’ मा साझेदारी सम्बन्धी सम्झौता भएको छ। महानगरपालिकाले जेठ ७ बाट काठमाडौंको टुँडिखेलमा मेला आयोजना गरिरहेको छ।
एनसेल र महानगरबीचको साझेदारी सम्बन्धी सम्झौतामा महानगरपालिका तर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका अध्यक्ष रामजी प्रसाद पौडेलले हस्ताक्षर गरेका थिए।
एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले हस्ताक्षर गरेका थिए।
सिप मेलामा १० क्षेत्रमा आधारित ३७ पेसामा २ हजार ४ सय २४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ। यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन्। ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसा छन्।
विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो। यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेसाका तालिम चलिरहेको छ। हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरूको सहजकर्ताका लागि हो।
इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेसाका तालिम सञ्चालित छन्।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेसाका तालिम छन्। कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेसाका तालिम छन्। हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ पेसाका तालिम छन्।
अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेसाका तालिम सञ्चालित छन्। आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेसाका तालिम चलिरहेका छन्। यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन्।
कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन्। यस्तै स्टक मार्केट सम्बन्धी तालिम चलिरहेको छ।
जेठ २३, २०८२ शुक्रबार १९:०१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।