छोरीको सपना बोकेर अटो गुडाउने आमा

छोरीको सपना बोकेर अटो गुडाउने आमा

सुर्खेत : सुर्खेतको चिङाड गाउँपालिका-५ अवलचिङकी जमुना रोकाया अहिले ३० वर्ष पुगिन्। तर यो ३० वर्षभित्र उनले जुन जीवन जिइन्, त्यो सजिलो थिएन। २० वर्षको उमेरमै विवाह भयो, २१ मा आमा बनिन्। अनि २७ वर्ष पुग्दा श्रीमानसँग डिभोर्स।​​​श्रीमानको घरेलु हिंसा सहन नसकेर सम्बन्ध विच्छेद गरिन्, तर त्यो निर्णय आफैंमा गाह्रो थियो। घरपरिवारको पनि खासै साथ पाइनन्। छोरीको हेरचाह गर्ने जिम्मेवारीसमेत जमुनाकै काँधमा थियो।

नयाँ बाटो खोज्दै उनी गाउँबाट सुर्खेतको वीरेन्द्रनगर झरिन्। आठ कक्षा मात्रै पढेकी जमुनालाई काम पाउन सजिलो थिएन्। काम त चाहिएकै थियो।

त्यही बेला वीरेन्द्रनगर नगरपालिकाले अटो चालक तालिम खोल्यो। उनले फारम भरी प्रशिक्षण लिइन्। तालिम सकेपछि सोचिन्-  अब आफ्नै अटो किन्छु।

तीन वर्षअघि उनले लघुवित्त संस्थाबाट दुई लाख ऋण लिएर सेकेण्ड ह्याण्ड अटो किइन्। आज जमुनाको बिहानदेखि साँझसम्मको सँगै हुने साथी हो, त्यही अटो। यात्रु ओसार्दै, गल्ली गल्ली गुड्दै उनको दैनिकी बित्छ।

त्यही अटो चलाएर महिनामा २५ हजार जति कमाउँछिन्। भाडा, छोरीको स्कुल खर्च, भाइबहिनीको पढाइ र अन्य खर्च कटाएर पनि करिब १५ हजार जति बचत गर्छिन्।

उनको नौ वर्षकी छोरी अहिले कक्षा दुईमा पढिरहेकी छिन्। जमुनाले वीरेन्द्रनगर–७ मा कोठा भाडामा लिएकी छन्, भाइ–बहिनीहरूलाई पनि गाउँबाट ल्याएर पढाएकी छन्। ‘मैले जे भोगें। मेरी छोरीले पनि त्यो दुःख कहिलै नभोगोस्,’ उनले भनिन्, ‘सुरुमा त अटो चलाउँदा निकै डर लाग्थ्यो, लाज पनि लाग्थ्यो। तर अहिले गर्व लाग्छ।’ डिभोर्सपछि केही समय मानसिक रूपमा कमजोर भएकी जमुना अहिले आफ्नो कामप्रति पूर्ण आत्मविश्वासमा छन्। ‘श्रीमानको घरेलु हिंसा थियो, घरबाट पनि सहयोग थिएन,’ उनले भनिन्, ‘डिभोर्सपछि केही समय मानसिक रूपमा निकै कमजोर बनेकी थिएँ।’

जमुना छोरी नै आफ्ना लागि प्रेरणाको स्रोत बनेको बताउँछिन्। ‘छोरीको भविष्यका अगाडि अरु सबै कुरा सानो लाग्यो। जीवनले धेरै परीक्षा लिँदो रहेछ। तर हार्ने होइन, सिक्ने हो,’ जमुनाले थपिन्, ‘यही सेकेण्ड ह्याण्ड अटोसँगै मेरो जीवनको सफलता अगाडि बढिरहेको छ।’  

अटो किनेको ऋणसमेत तिरेर हलुका भएकी जमुना अटोबाटै आम्दानी गरेर घर, शिक्षा र दैनिकी सम्हालिरहेकी छिन्। जमुना जस्तै वीरेन्द्रनगरमा दुई दर्जनभन्दा बढी महिलाहरू छन्, जो अटो चलाएर आत्मनिर्भर बन्न सफल भएका छन्।

जेठ २३, २०८२ शुक्रबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।