प्रतिपक्षी टसमस नभएपछि आइतबारका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

प्रतिपक्षी टसमस नभएपछि आइतबारका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार जेठ २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिपक्षी दलहरूको असहमतिका कारण अघि नबढेपछि बैठक स्थगित गरिएको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक आइतबार दिउँसो १ बजे बस्ने उल्लेख गरिएको छ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागसहित तीन बुँदे अडान कायमै राखेपछि संसद् अघि नबढ्ने स्थिति बनेको थियो।

सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले पद नत्यागेसम्म संसद् चल्न नदिने अघिल्लो निर्णय यथावत् राख्ने निष्कर्ष निकालेपछि बैठक सूचना टाँस गर्दै स्थगित गरिएको हो।
यसै आधारमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी तोकेको सचिवालयले जानकारी दिएको छ।

जेठ २३, २०८२ शुक्रबार १५:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।