त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्रको एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत नवप्रवर्तन, उद्यमशीलता र उद्योगसँगको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्रले एकदिने अनुभव आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
किर्तिपुरस्थित केन्द्रको सेमिनार हलमा आयोजित कार्यक्रममा त्रिविका विभिन्न केन्द्रीय विभाग र अध्ययन संस्थानहरूसँग आबद्ध इन्क्युबेसन केन्द्रका करिब १५ जना संयोजक तथा फोकल पर्सनहरूको सहभागिता थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्रका निर्देशक प्रा. डा. तारा प्रसाद भुसालले केन्द्रको उद्देश्य, हाल सञ्चालनमा रहेका कार्यक्रमहरू, र आगामी योजनाहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे।
कार्यक्रममा पूर्व कुलपति प्रा. डा. शिवलाल भुसाल विशेष अतिथिका रूपमा सहभागी थिए। उनले विश्वविद्यालयको अनुसन्धान र नवप्रवर्तनलाई व्यवहारमा उतार्न यस्तो संस्थाको भूमिका अपरिहार्य भएको भन्दै त्रिविको यो पहल प्रशंसनीय भएको धारणा राखे।
अन्य सहभागीहरूले आ-आफ्नो इन्क्युबेसन केन्द्रको अवस्था, गतिविधि, चुनौती र आगामी योजना सुनाए। उनीहरूले त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्रलाई त्रिवि अन्तर्गतका सम्पूर्ण इन्क्युबेसन केन्द्रहरूको साझा समन्वयकारी निकायको रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, र स्थानीय, प्रादेशिक तथा संघीय सरकारहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। यसमार्फत आइडिएसनदेखि स्टार्टअपसम्मको यात्रालाई सहज बनाउने वातावरण तयार गर्नुपर्ने औँल्याइयो।
जेठ २३, २०८२ शुक्रबार १५:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।