सुपरहिरो फिल्ममा काम गर्दै आमिर खान, ‘पीके २’ बारे के भने?

एजेन्सी : लामो समयपछि फिल्म ‘सितारे जमीन पर’बाट पर्दामा फर्किन लागेका अभिनेता आमिर खानले आफ्ना आगामी परियोजनाबारे महत्वपूर्ण खुलासा गरेका छन्।
जुन २० मा रिलिज हुन लागेको ‘सितारे जमीन पर’को प्रमोशनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै आमिरले आफ्नो भावी योजनाबारे जानकारी दिएका हुन्।
उनले दक्षिण भारतीय सफल निर्देशक लोकेश कनगराजसँग मिलेर एक सुपरहिरो ड्रामा फिल्ममा काम गरिरहेको पुष्टि गरेका छन्।
यो फिल्म ठूलो स्तरको एक्सन हुने र सन् २०२६ को मध्यतिर फ्लोरमा जाने आमिरले बताए। यद्यपि, सन् २०१४ को हिट फिल्म ‘पीके’को सिक्वेल बन्ने हल्लालाई भने उनले सिरे इन्कार गरेका छन्।
उनले भने, ‘पीके २ अफवाह हो। मलाई यसको बारेमा केही थाहा छैन।’
आमिरले यसअघि नै घोषणा भइसकेको भारतीय सिनेमाका पिता दादासाहेब फाल्केको बायोपिकमा पनि काम गरिरहेको बताए। राजकुमार हिरानीले निर्देशन गर्ने यस फिल्ममा आमिरले फाल्केको मुख्य भूमिका निर्वाह गर्नेछन्। यसको काम अघि बढिरहेको उनले पुष्टि गरे।
यसैबीच, आमिरले आफ्नो २५ वर्षदेखिको सपना ‘महाभारत’ योजाबारे पनि बोले। उनले ‘महाभारत’ बनाउनु तपस्याजस्तो काम भएको र यसमा हात हालेपछि अरू कुनै फिल्म गर्न नसकिने बताए।
यसको लागि आफूले तयारी गरिरहेको भए पनि यो सपना पूरा हुन्छ वा हुँदैन, वा कहिले सुरु हुन्छ भन्नेबारे अहिले केही भन्न नसकिने उनले स्पष्ट पारे। कलाकार छनोट वा अन्य विवरणबारे पनि अहिले कुनै जानकारी दिन नमिल्ने उनले बताए।
जेठ २३, २०८२ शुक्रबार १४:०९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।