आईयूसीएनको क्षेत्रीय काउन्सिलरमा पाठकलाई समर्थन गर्न नेपाल सरकारको आग्रह

आईयूसीएनको क्षेत्रीय काउन्सिलरमा पाठकलाई समर्थन गर्न नेपाल सरकारको आग्रह

काठमाडौं : नेपाल सरकारले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन) को दक्षिण तथा पूर्वी एसियाका लागि क्षेत्रीय काउन्सिलर पदमा नेपाली उम्मेदवार रोशनी अधिकारी पाठकलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले हालै काठमाडौंमा रहेका कूटनीतिक नियोगहरू र आईयूसीएनका सदस्य राष्ट्रहरूलाई पत्राचार गर्दै पाठकको पक्षमा सहयोग मागेको हो। उक्त पदका लागि आगामी आईयूसीएन विश्व संरक्षण महाधिवेशनमा निर्वाचन हुनेछ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २ देखि १५ अक्टोबरसम्म हुने महाधिवेशनमा यस क्षेत्रबाट पाँच पदका लागि सात जनाको उम्मेदवारी परेको छ।

मन्त्रालयले पाठकको विस्तृत व्यक्तिगत विवरण संलग्न गर्दै उनी एक उच्च अनुभवी संरक्षणविद् भएको र दक्षिण र दक्षिणपूर्वी एसियाभर जैविक विविधता तथा वातावरण शासनसम्बन्धी गहिरो बुझाइ राख्ने उल्लेख गरेको छ।

मन्त्रालयको आग्रह पत्रमा भनिएको छ, ‘पाठकले यस क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न पूर्ण क्षमता राख्छिन्।’

परराष्ट्र मन्त्रालयले सदस्य राष्ट्रहरू र कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकको उम्मेदवारीलाई समर्थन गरी प्रतिवद्धता जाहेर गर्न विशेष अनुरोध गरेको छ।

जेठ २३, २०८२ शुक्रबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।