भारत-पाकिस्तान तनावले सन्नी अभिनित ‘लाहोर १९४७’को काम ठप्प

भारत-पाकिस्तान तनावले सन्नी अभिनित ‘लाहोर १९४७’को काम ठप्प

एजेन्सी : भारत र पाकिस्तानबीचको सम्बन्धमा आउने उतारचढावले बलिउडमा पनि प्रभाव पार्ने गरेको छ। पछिल्लो समय दुई देशबीचको तनाव बढ्दै जाँदा पाकिस्तानी कलाकारहरूलाई बहिष्कार गर्ने आवाज उठ्नुका साथै कतिपयको सामाजिक सञ्जाल खाताहरूमाथि पनि प्रतिबन्ध लगाइएको खबर आएको छ।

यस्तो संवेदनशील अवस्थामा अभिनेता सन्नी देओलले आफ्नो एक आगामी फिल्म ‘लाहोर १९४७’को काम रोक्दै फिल्म ‘बोर्डर २’मा पूर्ण रूपमा ध्यान केन्द्रित गरेको बताइएको छ।

रिपोर्टहरूका अनुसार, सन्नी देओल ‘लाहोर १९४७’को विषयवस्तुलाई लिएर चिन्तित भएकाले बाँकी सुटिङलाई प्राथमिकता दिन चाहँदैनन्।

बलिउड हंगामालाई उद्धृत गर्दै एक स्रोतले भनेको छ, ‘लाहोर १९४७ को लगभग १५ दिनको प्याचवर्क सुटिङ बाँकी छ। तर, सन्नी देओलले अहिले यसको सुटिङ गरिरहेका छैनन्। पाकिस्तानसँग तनाब चलिरहेका बेला फिल्मको सन्देशलाई गलत अर्थ लगाउन सकिन्छ भन्ने डर छ।’

उद्योगका एक जानकारका अनुसार, सन्नी देओल सम्भवतः पहिले ‘बोर्डर २’ रिलिज होस् भन्ने चाहन्छन्। १९९७ को सफल फिल्म ‘बोर्डर’ को सिक्वेल यो फिल्ममा उनी पाकिस्तानी सेनासँग लडिरहेको देखिनेछन्।

यो फिल्म सन् २०२६ को गणतन्त्र दिवसमा प्रदर्शन हुने तालिका छ। ‘बोर्डर २’ रिलिज भएपछि मात्र सन्नी देओल ‘लाहोर १९४७’ रिलिज गर्ने सोचमा रहेको बताइएको छ।

राजकुमार सन्तोषीले निर्देशन गरेको ‘लाहोर १९४७’ मा सन्नी देओलसँगै प्रीति जिन्टा र अली फजलको पनि अभिनय छ। यो फिल्म आमिर खानले निर्माण गरेका हुन् र उनको पनि यसमा रोचक भूमिका रहेको छ।

फिल्म प्रसिद्ध नाटक ‘जिस लाहोर नहीं देखा वो जन्मा ही नहीं’ मा आधारित छ। सन् १९८० मा लेखिएको यो नाटकले भारत विभाजनपछि लखनऊबाट लाहोर सरेको एक मुस्लिम परिवार र लाहोरको एउटा हवेलीमा बस्न अस्वीकार गर्ने एक वृद्ध हिन्दू महिलाबीचको सम्बन्धको कथा प्रस्तुत गर्छ।

जेठ २३, २०८२ शुक्रबार १३:५४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।