ओखलढुङ्गाबाट २१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

ओखलढुङ्गा : ओखलढुङ्गामा चालू आर्थिक वर्षको १० महिनाभित्र ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलका अनुसार उच्च जोखिममा रहेका उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको हो।
जीवन जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन यो कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार गरिँदै आएको उनले बताए।
जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलालाई नवजीवन दिएको बताए। उनका अनुसार पहिले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो, तर अहिले हवाई उद्धार सेवाले आमा र शिशुको ज्यान बचाएको छ।
राजभण्डारीले विगतमा महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न सक्नेले मात्र उपचार पाउने अवस्था रहेकोमा हालको कार्यक्रमले सबैलाई समेटेको भन्दै स्वास्थ्य योजना बनाउँदा दुर्गमका नागरिकलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिए।
जेठ २३, २०८२ शुक्रबार १२:३४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।