सातै वर्षमा बिहे गरेका रामकृष्णको हिजोका कुरा : पत्नीसँग बोल्न १० वर्ष लाग्यो, एक छाक भातकै लागि ३६ सालमा गिरफ्तारी दिएँ

सातै वर्षमा बिहे गरेका रामकृष्णको हिजोका कुरा : पत्नीसँग बोल्न १० वर्ष लाग्यो, एक छाक भातकै लागि ३६ सालमा गिरफ्तारी दिएँ

काठमाडौं : सिन्धुपाल्चोकका रामकृष्ण नेपाल उमेरले ६६ वर्ष पुगे पनि जोसजाँगर अहिलेका युवाको भन्दा कम छैन। हेर्दा फुर्तिला उनी विगत ३५ वर्षदेखि खेतान ग्रुपमा कार्यरत छन्।

बाल्यकालमा गाउँमा स्कुल नहुँदा पुरेत र पण्डितबाट कखरा मात्र सिकेका उनले पढ्न पाएनन्। ७ वर्षकै उमेरमा बिहे भए पनि श्रीमतीसँग बोल्न १० वर्षसम्म लाग्यो। पञ्चायतकालमा नाच्दा बाहुन भएर नाचेको भन्दै प्रधानपञ्चले अपशब्द प्रयोग गरे।

जागिरे जीवनसँगै अभिनयको रहर पनि पूरा गरिरहेका रामकृष्ण नेपालले आफ्नो जीवनका यस्तै तीतामीठा अनुभव उकेराको ‘हिजोको कुरा’ कोलममा यसरी सुनाएका छन्:

स्कुल नहुँदा बाह्रखरी बाहेक पढ्नै पाइएन
मेरो जन्म विसं २०१६ सालमा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका वडा नम्बर १४ मा भयो। पहिला ठूलो सिरुबारी गाविस वडा नम्बर ९ डडुवा थियो, नगरपालिका भएपछि वडा नम्बर १४ भएको छ। मैले थाहा पाउँदा मेरो गाउँमा स्कुल खुलेकै थिएन। पढे लेखेको मान्छे पनि हुँदैनथे। यसो पण्डित्याइँ गर्ने, पुरोहितहरूले चौरमा राखेर कखरा पढाउनुहुन्थ्यो। त्योभन्दा माथिल्लो कक्षामा पढ्नै पाइएन।

हामी अलि ठूला भएपछि गाउँकै युवाहरू मिलेर स्कुल खोल्नुपर्छ भनेर साधारण स्कुल निर्माण गरेका थियौँ। माटोको गारो लगाएर, एउटा सानो झुप्रो बनाएर हामीभन्दा पछिल्ला पुस्तालाई पढाउन सुरु गरेका थियौँ। अहिले त्यो स्कुललाई ‘गौरी शंकर भवानी शंकर नेपाल माध्यमिक’ भन्ने गरिन्छ। अहिले यसको नाम ‘डडुवा भवानी शङ्कर माध्यमिक विद्यालय’ भएको छ। त्यो समयमा माटोले लिपेर थालिएको कक्षा कोठामा यतिबेला ठूला-ठूला भवन बनेका छन्।

त्यो समयमा अरू ठाउँमा स्कुल खुलिरहेका थिए। विसं २००३ सालबाट अन्य ठाउँमा स्कुल खुले पनि हाम्रोमा निकै पछि मात्रै आफ्नै पहलमा खोल्यौँ। राज्यले नदिएको भनूँ कि समय परिस्थिति नै त्यस्तो थियो, थाहा भएन। मैले थाहा पाउँदा हाम्रो गाउँमा स्कुलको नमूना नै थिएन।

सातै वर्षमा बिहे, बेहुलो बनेर जाँदा गाडी देख्दा डराएर भागेँ
यो समय अचम्मको थियो। मेरो ७ वर्षको उमेरमा नै बिहे गरिदिनुभयो। मेरो भान्दाइलाई लिएर बुबाहरू केटी हेर्न जानुभएको बेलामा पराजुलीकी छोरीसँग मेरो कुरा छिनेर आउनुभएछ। त्यो घटना अलिकति सुनाउँछु।

‘लौ, तेरो बिहे गर्ने अरे त’ भनेर आमाले भनेपछि म रातभरी रोएँ। त्यो सात वर्षको उमेरमा बिहेको बारेमा सोच्नसक्ने भएकै थिइनँ। अनि त्यतिबेलाका बिहे रातिको हुन्थ्यो। म बेहुलो बनेर बाटोमा हिँड्दै गर्दा चौतारा जाने बाटोमा एउटा रसियन जिप हुँइकिएर आयो।

हामीतिरै मुख फर्काएर आइरहेको देखेपछि ‘अब यसले खान्छ’ भन्ने सोचले म तीन कान्ला तल हाम्फालेँ। अरूले ‘बेहुलो भाग्यो, बेहुलो भाग्यो’ भनेर हल्ला गरे। म गाडीले खान्छ भनेर भागेको थिएँ। त्यो जिपले बाटो काटेर गइसकेपछि फर्किएँ।

बेहुलीको घरमा साँझ-साँझमा पुगियो। रात छिप्पिँदै जाँदा निद्राले झुप्प-झुप्प हुन्थेँ। निदाउन थालेपछि चिसो पानी छ्यापिदिन्थे। सुत्नुपर्ने बेलामा जग्गे बसालेका छन्। पानीले अनुहारमा छम्किँदै राखेकोसम्म याद छ। भोलिपल्ट उज्यालो भएपछि जन्ते बाख्रो खाने खुवाउने क्रम चल्यो। बेहुली अन्माएपछि हामीले लिएर घर आयौँ।

बिहे भएको १० वर्षसम्म बोलचाल भएन
सात वर्षकै उमेरमा बिहे भए पनि श्रीमतीसँग बोलचाल सुरू हुन १० वर्ष नै लाग्यो। बोल्नै लाज लाग्थ्यो। बिहे गरेको १० वर्षपछि बुबाका साथीहरूले जिस्क्याउँदा म लाजले भुतुक्कै हुन्थेँ। अरूले  के भन्लान् भन्ने लागिराख्थ्यो। त्यसैले श्रीमतीसँग बोल्ने आँटै आएन।

ससुराली जाँदा होस् वा फर्कँदा, बाटोमा पनि बोलचाल हुँदैनथ्यो। अघिपछि भएर हिँड्थ्यौं। ससुराली जाँदा एकदमै लाज लाग्थ्यो। ७-८ वर्षको बच्चा, के नै बुद्धि हुन्थ्यो र? घर फर्कँदाखेरि ‘लु अब घर जानुपर्छ’ भन्नुहुन्थ्यो। अनि झोला बोकेर लुरुलुरु नबोली घर आइपुगिन्थ्यो। त्यस्तो समयमा हुर्कियौँ हामी। अहिले सम्झँदा आफैँलाई अनौठो लाग्छ।

‘नाचेको देख्दा प्रधानपञ्चको थुक्क भन्ने बोलीले मन दुख्यो’
मलाई सानैदेखि नाच्न र गाउन रमाइलो लाग्थ्यो। बिहे, पूजाअर्चना भएको घरमा दमाईहरूले बाजा बजाउँदा म उनीहरूको बीचमा छिरेर नाच्न थालिहाल्थेँ। त्यो बेला हाम्रै गाउँका प्रधानपञ्च रेउरीसिंह नेपाल भन्ने हुनुहुन्थ्यो।

उहाँले मलाई ‘थुक्क! बाहुनको छोरो भएर दमाई बाजामा नाच्ने’ भनेर गाली गर्नुभयो। मैले त्यो बेला उहाँलाई ‘मेरो नाच अमेरिकादेखि देशविदेशमा हेर्ने बनाउँछु। तपाईंको त्यो थुक्क लच्छिनको छ, धन्यवाद तपाईंलाई’ भनेर च्यालेन्ज गरेको थिएँ।

मैले त्यो बेला प्रधानपञ्चलाई भनेको कुरा म कहिल्यै बिर्सन्नँ। त्यो समयमा प्रधानपञ्चहरू अलि कडै हुन्थे। गाउँमा हुकुम चल्थ्यो। एउटा डाँडाबाट फलाकेको भरमा चौतारामा भेला हुनुपर्थ्यो। अन्याय, न्यायमा पापसँग डराउँथे, अरूमा खासै त्यस्तो हुँदैनथ्यो।

मलाई त्यो बेलाका प्रधानपञ्चहरूको ‘बठ्याइँ’ त त्यति थाहा छैन। मान्छेहरूले प्रधानपञ्च र पञ्चायतबारे अनेक कुरा गर्छन्। तर मैले न आँखाले देखेको छु, न त्यस्तो अनुभव गरेको छु। राजाको जन्मोत्सवमा भजनकीर्तन लिएर सदरमुकाम चौतारा जानुपर्थ्यो। त्यो चाहिँ याद छ।

त्यो समयमा पञ्चायत व्यवस्था विरोधीको आन्दोलन शहर र अन्य ठाउँमा चर्किँदा हाम्रो गाउँमा खासै केही थिएन। कोही कोही मान्छेहरू अलि-अलि फरक देखिन्थे। पञ्चहरूकै हालीमुहाली हुन्थ्यो। २०२५ सालतिरबाट बहुदलतर्फ लाग्ने मान्छेहरू फाट्टफुट्ट देखिन्थे।

३६ सालको आन्दोलनमा पैसा कमाउने त्यो आइडिया
म ३६ सालमा काठमाडौं आइसकेको थिएँ। सत्याग्रह आन्दोलन चलेको थियो। कांग्रेसले गरेको त्यो आन्दोलनको क्रममा गीत गाउने, नाच्ने काम हुन्थ्यो। खानेपानीका एक जना हाकिम हुनुहुन्थ्यो। उहाँ हाकिम, म र मेरो भाइ एउटै कोठामा बस्थ्यौँ। उहाँको तलब १०० रुपैयाँले खान पुग्दैनथ्यो। हामी त बेरोजगार।

के गर्ने भन्दा, गीत गाउने आइडिया निकाल्यौँ। काठमाडौं बाट बनेपा जाँदा गाडीमा गीत गाउँदै जाने र उताबाट फर्कँदा पनि गीत गाउँदै पैसा कमाउने योजना बनायौँ। मेरो भाइ अपाङ्ग बनेर बस्ने, हाकिम आँखा उभो फर्काएर बस्ने र म गीत गाउने।

यो सुरू गरेको एक हप्तामै साँगामा प्रहरीले समात्यो। ‘ओ फलनाका छोरा हो’ भन्दै कुट्दै लगेर थुन्यो। हामीलाई त खासै फरक परेन, तर आँखा उँभो फर्काएर बसेका ती हाकिमलाई साह्रै गाह्रो भयो। यसो घोसे मुन्टो लगाउँदा ‘ओए फलनाका छोरा, ठाडो मुटो लगा’ भन्थ्यो। उहाँले भनेको मान्नैपर्यो, नत्र ‘ठग रहेछ’ भन्दै झन् कुट्ने डर। ती हाकिमलाई एक रात कटाउनै गाह्रो भयो। भोलिपल्ट प्रहरीले छोडिदियो।

प्रहरीले छाडेपछि न्याउरो मुख लगाएर काठमाडौं फर्कियौँ। अब आउन त आइयो, के गर्ने भन्ने भयो। ३६ सालको सत्याग्रह आन्दोलन सिंहदरबारको गेटअगाडि चलिरहेको थियो। त्यो बेला गिरफ्तार गर्थ्यो र चौकीमा लगेपछि खाना खान दिन्थ्यो।

अनि हाम्रो काम दिनभरि यताउता घुम्ने, गिरफ्तार हुने बेला भयो कि भन्ने लागेपछि सिंहदरबारको गेटअगाडि गएर सुतिहाल्ने भयो। कसको आन्दोलन हो, के हो मतलबै हुँदैनथ्यो। एक छाक भात खानकै लागि गिरफ्तारी दिन जाने। बेलुका लान्थ्यो बिहान छोडिदिन्थ्यो। यो क्रम निकै समयसम्म चलिरह्यो।

४६ सालको आन्दोलनमा ‘नराम्ररी कुटाइ खाइयो’
वास्तविक कुटाइ त मैले ४६ सालको आन्दोलनमा खाएँ। २०४६ सालको आन्दोलन खुबै चर्केको थियो। दरबारमार्ग आसपास नाराजुलुस हुने र प्रहरीले कुट्ने, समाउने गरिरहन्थ्यो। एक दिन म त्यो आन्दोलनको भिडमा छिरेँ।

भागदौड मच्चिन थालेपछि एउटा होस्टेलमा छिरियो, त्यो त कांग्रेसीहरूको अखडा रहेछ। प्रहरी त्यहीँ छिरेर नराम्ररी कुट्यो। त्यहाँबाट बच्न बाथरुमभित्र छिरेको, त्यहीँ बुटैबुटले धोबी हान्यो। यति हान्यो कि झन्डै ढल्नेसो नै खुस्किएन।

त्यो बेलाको आन्दोलनदेखि अहिलेसम्म हेर्दा मैले के देखेँ भने, नेपाली जनता साह्रै अस्थिर लाग्छन्। मेरो अनुभवमा, हाम्रो नेपाली जनता ‘हावा’ जस्ता छन्। पहिले पञ्चायतविरुद्ध भनेर कांग्रेसतिर लागे, त्यसपछि माओवादी भनेर प्रचण्डतिर होमिए। अनेक आन्दोलन गरे।

सोचेजस्तो केही नभएपछि फेरि राजावादी बनेर आन्दोलन चर्काउन थालेका छन्। यो सबै हावाको भरमा भइरहेको जस्तो लाग्छ। पहिला पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै छ। गणेशमान सिंहले भनेको एउटा कुरा बेलाबेला सम्झन्छु- ‘नेपाली जनता भेडा हुन्।’ अहिले मलाई पनि त्यस्तै लाग्छ।

खेतानमा जागिर, पैसा उठाउने, बुझाउने, मन्त्रीलाई फोन गर्ने
मैले खेतान ग्रुपमा जागिर गर्न थालेको ३५ वर्ष भयो। यहाँ जागिर खाँदाको आफ्नै अनुभव छ। म त बाह्रखरी मात्रै पढेको मान्छे, त्यति चलाख थिइनँ। ३५ वर्षअघि अफिस अगाडि ‘यो खेतान ग्रुपको अफिस हो?’ भनेर त्यहाँका मोहन गोपाल खेतानलाई नै सोधेछु।

उहाँले ‘कहाँ घर?’ भनेर सोध्नुभयो। मैले ‘सिन्धुपाल्चोक’ भनेँ। ‘तपाईंले कस-कसलाई चिन्नुहुन्छ?’ भनेर कुरा निकाल्नुभयो। मैले ‘पशुपति शमशेरलाई चिन्छु’ भनेँ, अनि ‘मेरो ठूलो बुबाको छोरा आत्माराम नेपाललाई पनि चिन्छु’ भनेँ। उहाँले ‘ए, आत्मारामको भाइ’ भन्नुभयो।

‘साइकल चलाउन आउँछ?’ भनेर सोध्नुभयो। मलाई साइकल चलाउन नआए पनि ‘आउँछ’ भनेर फुर्ती लगाएँ। फुर्ती त लगाएँ, तर साइकल चलाउन आउँदैनथ्यो। एक दुई दिन अरूको साइकल लर्याङबर्याङ गर्दै चलाएँ। त्यसपछि चलाउन सक्ने भएँ। अहिले जस्तो यति व्यस्त बाटो थिएन, खाली नै हुन्थ्यो।

खेतान कम्पनीले मलाई ‘फलानो ठाउँबाट यति लाख रुपैयाँ लिएर आउनुपर्छ’ भनेर अह्राउँथ्यो। म साइकलमै गएर पैसा बोकेर आउँथेँ। बैंकमा जम्मा गर्ने, निकाल्ने यस्तै काम हुन्थ्यो। कहिलेकाहीँ ‘फलानो मन्त्रीलाई फोन गर’ भन्नुहुन्थ्यो, गर्थेँ। मोहन खेतानको पियन जस्तै भएर काम गरेँ। मेरो तलब त्यतिबेला एक हजार रुपैयाँ थियो। त्यो बेला हजार रुपैयाँ पनि ठूलो थियो, तर अहिले ३०-४० हजारले पनि अभाव टर्दैन।

रहरमा टेलिफिल्म र फिल्म पनि खेले
मैले सुरूमा जितु नेपालको ‘जिरे खुर्सानी’मा खेल्ने मौका पाएँ। यो खेलिरहेको बेला गोपाल नेपाल ‘फिस्टे’ले मलाई टेलिफिल्म ‘लगन जुर्ला जस्तो छ’ र ‘हाँस्न पाइन्न’मा खेलाउनुभयो। अहिले युट्युबमा प्रसारण हुने ‘कान्छी’ टेलिफिल्ममा खेलिरहेको छु। सानैदेखि कलाकार बन्ने रहर थियो, तर समय मिलेन।

फिल्ममा पनि अभिनय गरेँ। विजय विक्रम बस्नेतको फिल्म ‘नमस्ते’ मा अभिनय गरेको छु। त्यसपछि ‘सूर्यचन्द्र’, ‘वीर’, र ‘लक्का जवान’मा पनि अभिनय गरेँ। यो मेरो सानैदेखिको सोख थियो, जुन पूरा गरेको छु। अहिले पनि केही सिरियलबाट अफर आइरहन्छ। जागिरे भएकाले दुवै काम मिलाएर गरिरहेको छु।

जेठ २३, २०८२ शुक्रबार १२:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।