भैरहवा सेजमा भाटभटेनी समूहको डेढ अर्ब लगानीमा गार्मेन्ट उद्योग स्थापना हुने

भैरहवा सेजमा भाटभटेनी समूहको डेढ अर्ब लगानीमा गार्मेन्ट उद्योग स्थापना हुने

बुटवल : रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घराना भाटभटेनी समूहले ठूलो लगानी भित्र्याएको छ।

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानीमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो।

भैरहवा सेजभित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने यस उद्योगको भूमि पुजन बुधबार भएको छ र ९ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यो उद्योग नेपाली बजारका साथै युरोप र अमेरिकामा तयारी पोशाक निर्यात गर्ने उद्देश्यले स्थापना गर्न लागिएको हो।

उद्योगबाट १ हजार २ सय बढीलाई रोजगारी प्राप्त हुने अपेक्षा छ, जसमध्ये ९८ प्रतिशत स्थानीय तथा नेपाली श्रमिक हुनेछन्।

अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिन र ‘नेपालमा केही हुँदैन’ भन्ने भ्रमलाई तोड्नका लागि औद्योगिक क्षेत्रमा लगानी गरेको बताए। उनले सबै निजी क्षेत्रलाई उत्पादनमा लगानी गर्न आह्वान समेत गरे।

यस समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि छन्। सेजमा उद्योग स्थापना गर्नेलाई सरकारले विशेष सुविधाहरु उपलब्ध गराएको छ।

भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले भाटभटेनीको लगानी भित्रिनु उत्साहजनक भएको बताउँदै हाल १३ मध्ये ११ उद्योग सञ्चालनमा रहेको र आगामी ६ महिनाभित्र थप उद्योग खुल्ने तयारीमा रहेको जानकारी दिए।

जेठ २३, २०८२ शुक्रबार १०:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।