दर्ताविनाका क्लिनिक, ‘भान्सा’जस्ता ल्याब

बुटवल : बुटवलमा सञ्चालित केही स्वास्थ्य क्लिनिक तथा मेडिकल ल्याब अस्वाभाविक अवस्था भेटिएका छन्। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा कतिपय ल्याब अस्तव्यस्त भेटिएका थिए भने केही प्रख्यात क्लिनिकसमेत दर्ताविना सञ्चालनमा रहेको पाइएको छ।
खाद्यवस्तु र स्वास्थ्य परीक्षणमा प्रयोग हुने केमिकल एउटै फ्रिजमा राखेको भेटिएपछि एक ल्याब सिल गरिएको छ भने दर्ता नभएका क्लिनिकसहित सात वटा स्वास्थ्य संस्थामा ताला लगाइएको छ।
भान्साजस्ता ‘ल्याब’
बुटवलको भुड्की चोकबाट चाँदबारी जाने बाटोमा रहेको चन्दन फार्मेसीको माथिल्लो तलामा रहेको लालीगुराँस प्याथोलोजीमा गरिएको अनुगमनका क्रममा ल्याबको अवस्था सन्तोषजनक थिएन। मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) रुपन्देहीले २०७१ असार १६ गते निर्धारण गरेको ल्याब शुल्क झुण्डाइएको भए पनि भित्रको दृश्य फरक थियो।
सानो फ्रिज, चेकजाँचका लागि राखिएका केमिकल तथा उपकरणहरू छरपस्ट अवस्थामा थिए। ल्याब हेर्दा साँच्चै ल्याब जस्तो नभई भान्सा कोठाजस्तो अस्तव्यस्त देखिन्थ्यो। अझ अचम्मको कुरा त फ्रिजमा पेय पदार्थ फेन्टा र केही खानेकुरासँगै विभिन्न चेकजाँच गर्ने केमिकलजन्य औषधिहरू पनि राखिएका थिए। खाद्यवस्तु र केमिकल एउटै फ्रिजमा भेटिनु स्वास्थ्य संवेदनशीलताका दृष्टिले अत्यन्तै गम्भीर लापरबाही हो।
अनुगमन टोली पुग्दा लालीगुराँस प्याथोलोजीका सञ्चालक प्रतिमा पौडेलका श्रीमान् माधव पौडेल त्यहाँ उपस्थित थिए। उनले अनुगमन टोलीसँग ल्याब बन्द रहेको दाबी गरे। तर, प्रत्यक्ष अवलोकनका क्रममा ल्याबमा परीक्षण हुने गरेको स्पष्ट देखिएको अनुगमन टोलीका एक सदस्यले बताए।
‘त्यहाँ कपडाहरू चिसा थिए। महिनौं बन्द भएको भनिएका ल्याबमा चिसा कपडा सुकाएको हुन्छ?’, ती सदस्यले भने।
खाद्यवस्तु र औषधि/केमिकल एउटै फ्रिजमा भेटिएपछि अनुगमन टोलीले सो ल्याबमा तत्काल ताला लगाइदिएको छ। सञ्चालकले यसलाई ल्याब नभई कलेक्सन सेन्टर मात्र भएको दाबी गरे पनि परीक्षणका सामग्री र अवस्थाले ल्याब नै सञ्चालनमा रहेको देखाएको टोलीले निष्कर्ष निकालेको थियो।
चन्दन फार्मेसीकै माथिल्लो तलामा रहेको चन्दन स्वास्थ्य क्लिनिकमा पनि अनुगमन टोली पुगेको थियो। क्लिनिकका सञ्चालक माधव पौडेलले क्लिनिक सञ्चालनमा रहेको बताएका थिए। यद्यपि, भित्र हेर्दा महिनौं बन्द भएजस्तो नदेखिए पनि अनुगमन टोलीले क्लिनिकमा ताला लगाएन, क्लिनिकको बोर्ड मात्र हटाउन लगायो।
चन्दन फार्मेसीकी सञ्चालक प्रतिमा पौडेल र उनका श्रीमान् माधव पौडेल दुवै लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्। माधव पौडेल अनुगमनका बेला बिहान सवा १० बजेसम्म फार्मेसीमै थिए। उनले आफू प्रादेशिक अस्पतालबाट बिदामा बसेको अनुगमन टोलीलाई बताए पनि अस्पताल स्रोतले भने १० बजेर २६ मिनेटमा पुगेर हाजिर गरेको जानकारी दियो।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार प्रतिमा पौडेल तीन दिनको बिदामा थिइन् भने माधव पौडेल बुधबार अस्पतालमा हाजिर भएका थिएनन्।तर, बिहीबार बिहान १० बजेर २६ मिनेटमा हाजिर भएको देखिन्छ।
बुटवलकै राजधानी फार्मेसीमा रहेको ल्याबको अवस्था पनि चन्दन फार्मेसी र लालीगुराँस प्याथोलोजीको भन्दा कम थिएन। घरको भान्साभन्दा कम अस्तव्यस्त नदेखिएको सो ल्याबमा केमिकल यत्रतत्र छरिएका थिए। ल्याब सञ्चालनको सामान्य मापदण्डसमेत पूरा नभएको भन्दै अनुगमन टोलीले यो ल्याब पनि बन्द गराएको छ। यसका सञ्चालक जिवलाल भुसाल हुन्।
स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सेवा दिँदा गुणस्तरीयता र सुरक्षामा कुनै प्रश्न उठ्न दिनु हुँदैन। तर, बुटवलमा घरपिच्छे अव्यवस्थित र मापदण्डविपरीतका ल्याब तथा क्लिनिकहरू छ्यापछ्याप्ती सञ्चालनमा रहेको अनुगमनले देखाएको छ।
दर्ताविनाका क्लिनिकहरूमा ताला
अनुगमनका क्रममा मापदण्ड नपुगेका ल्याब मात्र होइन, केही प्रख्यात क्लिनिकहरूसमेत दर्ताविना सञ्चालनमा रहेको पाइएको छ।
बुटवलमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कहलिएकी डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिक प्राइभेट लिमिटेड दर्ताविना नै सञ्चालन भइरहेको भेटिएपछि अनुगमन टोलीले सो क्लिनिकमा ताला लगाइदिएको छ।
डा. शिला क्षेत्रीबाट सेवा लिन बिरामीले २-३ दिन अगाडि नै नाम लेखाउनुपर्ने अवस्था छ। यस्तो लोकप्रिय व्यक्तिले सञ्चालन गरेको क्लिनिक दर्ता नै नभई सञ्चालन भएपछि अनुगमन टोली पनि अचम्ममा परेको थियो।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार बरदान क्लिनिक प्रालिको ओपीडी (बाहिरङ्ग सेवा), ल्याब र भिडिओ एक्स-रे सेवामा ताला लगाइएको छ। बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन्।
‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौँ,’ उनले भने, ‘आवश्यक दर्ता प्रक्रिया पूरा गरेर आएपछि मात्र ताला खुल्नेछ।’
बरदान क्लिनिकसहित बुटवलमा बिहीबार गरिएको अनुगमनमा कुल सातवटा स्वास्थ्य संस्थाहरू दर्ताविना सञ्चालनमा रहेको वा मापदण्डविपरीत पाइएपछि अनुगमन टोलीले बन्द गराएको थियो।
अनुगमन टोलीले अस्पताल लाइनमा रहेका रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्सन प्रयोगशाला (लालीगुराँस प्याथोलोजी) बन्द गराएको हो।
त्यस्तै, शिला मेडिकल हलको क्लिनिक र अस्पताल लाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गराइएको सहायक प्रजिअ रानाले जानकारी दिए। बुटवल डेन्टल प्रालि पनि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको थियो।
जेठ २३, २०८२ शुक्रबार ०९:०९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।