विपद् अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता भएमा सशस्त्र प्रहरीका दुई गोताखोरको खोजी तीव्र

काठमाडौं : सप्तरीको सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारीका लागि गरिएको सिमुलेसन अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुई जना गोताखोरको खाेजी तीव्र पारिएको छ।
बिहीबार दिउँसो अभ्यास भइरहेका बेला उनीहरू बेपत्ता भएका थिए। बेपत्ता हुनेहरूमा सशस्त्र प्रहरी बल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजबंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद रहेका छन्।
खोजीका लागि सशस्त्र प्रहरी बलका विभिन्न टोली परिचालन गरिएको छ। दन्तकाली विशेष कार्य तालिम शिक्षालयका डीएसपी विजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना, नम्बर ६ गण सप्तरीका डीएसपी बिपिन देशारको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २० जनाको टोली खटिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जनाको थप टोली पनि खोजी तथा उद्धारका लागि घटनास्थलमा पुगेको छ।
यो अभ्यास प्रदेश स्तरिय विपद् सेमुलेशनको रूपमा गरिएको थियो। बेपत्ता भएका दुवै जनाले २०८०/८१ सालमा गोताखोर तालिम पूरा गरी यसअघि पनि उद्धार कार्यमा खटिइसकेका थिए।
जेठ २३, २०८२ शुक्रबार ०८:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।