अमेरिकाद्वारा नेपालीका लागि टीपीएस सुविधा खारेज, दुई महिनाभित्र सात हजार स्वदेश फर्किनुपर्ने

एजेन्सी : संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ। यो निर्णयसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ।
अमेरिकाको गृह सुरक्षा विभागले नेपालको अहिलेको अवस्थाको समीक्षापछि टीपीएस खारेज गर्ने निर्णय लिएको हो। यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा उल्लेख भएअनुसार, नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ राति ११ः५९ बजे अन्त्य हुनेछ।
टीपीएस मान्यतामा अमेरिका बसेका नेपालीले त्यसअघि नै स्वदेश फर्किनुपर्नेछ। यदि अमेरिकामा बस्ने अन्य वैधानिक आधार नभए स्वदेश फर्किन तयार रहन सूचनामा भनिएको छ।
अमेरिकाले सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै त्यतिबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो।
त्यसबेला झण्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बताइन्थ्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला यो निर्णय आएको हो।
के हो टीपीएस ?
टीपीएस अमेरिकाको आप्रवासन प्रणालीअन्तर्गत विशेष परिस्थिति (आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य गम्भीर मानवीय संकट) मा प्रभावित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ यात्रा गर्न समेत अनुमति दिइने सुविधा हो।
यो डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) ले व्यवस्थापन गर्छ र यो स्थायी बसोबासको सुविधा भने होइन। निश्चित अवधि समाप्त भएपछि अमेरिकामा बस्न योग्य नभए सम्बन्धित व्यक्ति फर्किनुपर्छ।
जेठ २३, २०८२ शुक्रबार ०७:४४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।