सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विपक्षीको अवरोध कायमै रहने आशङ्का

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विपक्षीको अवरोध कायमै रहने आशङ्का

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि निर्धारण गरिएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै 'सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने पनि सम्भावित कार्यसूचीमा समावेश छ।

तर, विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठनको मागसहित सदन अवरोध गरिरहेकाले आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशङ्का कायमै छ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।

जेठ २३, २०८२ शुक्रबार ०७:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।