माधव नेपालविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध हो : एकीकृत समाजवादी

माधव नेपालविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध हो : एकीकृत समाजवादी

काठमाडौं : एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दालाई राजनीतिक प्रतिशोध भनेको छ।

पार्टी महासचिव घनश्याम भूसालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान सरकारले राजनीतिक बदलाको भावना बोकेर विगतदेखि नै एकीकृत समाजवादीविरुद्ध षड्यन्त्र गर्दै आएको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षड्यन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको छ। अहिले दर्ता भएको मुद्दा पनि त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो ठहर छ। यस्ता षड्यन्त्रहरूको दृढ प्रतिवाद गरिनेछ।’

पार्टी अध्यक्ष माधव नेपालले स्वयं “नबिराउनु, नडराउनु” भन्ने अभिव्यक्तिका साथ कानूनी प्रक्रियाको सामना गर्ने अडान सार्वजनिक गरिसकेको उल्लेख गर्दै पार्टीले उनीप्रति दायर मुद्दालाई लिएर भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ।

पार्टीले अख्तियारले दर्ता गरेको मुद्दासम्बन्धी कुनै पनि कुप्रचार र भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र संयमित प्रतिक्रिया दिन आग्रह गर्दै कानूनी र राजनीतिक दुवै मोर्चामा आवश्यक तयारी भइरहेको जानकारी दिएको छ।

जेठ २२, २०८२ बिहीबार २१:०३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।