सरकार घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री गुरूङको दाबी

भक्तपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गरेर प्रत्येक घरमा टेलिभिजन हेर्न सकिने सुविधा पुर्याेउने सरकारको तयारी रहेको बताएका छन्।
भक्तपुरको डोलेश्वरमा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको प्रदेशस्तरीय प्रचार कार्यशालामा बोल्दै एमालेका उपमहासचिव समेत रहेका गुरूङले यस्तो जानकारी दिएका हुन्।
मन्त्री गुरुङका अनुसार पनौती–५ मा निर्माणाधीन सुरक्षा मुद्रण केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई हुलाक टिकट, लेबल–स्टिकर, नागरिकता, लालपूर्जा, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्सलगायतका कागजातहरू स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ।
आगामी निर्वाचन सन् २०८४ मा हुने भएकाले त्यसको एक वर्षअगाडि नै एमालेले महाधिवेशन गर्ने तयारीमा जुटेको पनि उनले बताए। ‘चुनावपछि लगभग ६० प्रतिशत कार्यकाल सकिइसक्यो। अब महाधिवेशन गरेर पार्टीलाई थप सुदृढ बनाउँदै चुनावमा जान्छौँ,’ उनले भने।
पार्टीभित्र देखा परेका व्यक्तिवाद, अराजकता र दक्षिणपन्थी अवसरवादको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। ‘नीति, सिद्धान्त र एजेन्डा राम्रो भए पनि आन्तरिक जीवन सुधार नगरी अघि बढ्न सकिँदैन,’ गुरुङले स्पष्ट पारे।
निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारबाही गर्न नसकिएकोमा पनि उनले खेद व्यक्त गरे। एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीभित्रका कमजोरीहरू उजागर गरिदिएको भन्दै उनले त्यसलाई सुधार्दै अघि बढ्नुपर्ने धारणा राखे।
जेठ २२, २०८२ बिहीबार १९:४१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।