बुटवलमा ४२ घरधनीले पाए लालपूर्जा

बुटवल : बुटवल उपमहानगरपालिका-१५ स्थित सेमलार क्षेत्रमा लामो समयदेखि लालपूर्जाविहिन रहेका ४२ घरधनीले बिहीबार जग्गाको लालपूर्जा पाएका छन्।
करीब ५०-६० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमकाबीच लालपूर्जा हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलका अन्य धेरै स्थानमा समेत लालपूर्जा वितरणका लागि नापजाँच कार्य अघि बढिरहेको र प्रक्रिया पुरा भएका ठाउँमा छिट्टै पूर्जा वितरण गरिने बताए।
‘कुनै ठाउँमा नापजाँच छुटेको भए वा अन्य समस्या भए पनि नगरपालिकाले सबै खर्च बेहोरेर पूर्जा वितरण गर्ने गरी काम अघि बढिरहेको छ,’ उनले भने।
६१ वर्षदेखि लालपूर्जा बिहिन भएर समस्यामा परेकालाई लालपूर्जा दिन पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले केही स्थानमा बसोबासको विवरण र नक्सा विवरण नमिलेका कारण समस्या देखिएको र ती ठाउँमा पुनः नापजाँच गरी पूर्जामा रहेका त्रुटि सच्याइने प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिए।
नापी कार्यालयसँगको सहकार्यमा लालपूर्जासम्बन्धी समस्याहरु समाधान गर्न अध्ययन भइसकेको र अब छिट्टै काम अघि बढ्ने उनले स्पष्ट पारे।
कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले प्रक्रिया पूरा भएका सबै जग्गाधनीलाई पूर्जा वितरणको काम भइरहेको बताइन्।
कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रुपन्देहीका अधिकृत सुग्रीव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव राना लगायतको उपस्थिति थियो।
जेठ २२, २०८२ बिहीबार १८:२२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।