मुद्दा दर्ता भएको सुन्दा माधव नेपाल स्तब्ध

मुद्दा दर्ता भएको सुन्दा माधव नेपाल स्तब्ध

रौतहट : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि मुद्दा दायर भएको सुन्दा स्तब्ध भएको सुनाए। काठमाडौं फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई जवाफ दिँदै नेपालले आफूमाथि मुद्दा दर्ता हुनुलाई प्रतिशोध भने। उनी काठमाडौंका लागि बुद्ध एयरको विमानमा चढीसकेका छन्। 

बिहीबार गृहजिल्ला रौतहट-१ मा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सुरुदेखि नै आफूविरुद्ध षड्यन्त्र रचिएको र राजनीतिक जीवन समाप्त पार्ने नियतसहित मुद्दा लगाइएको आरोप लगाए। ‘पतञ्जलिजस्तो संस्थामा यस्तो कुरा हुन्छ भन्ने त मैले कल्पना पनि गरेको थिइनँ,’ उनले भने।

नेपालले आफूले कुनै जग्गा खरिदबिक्रीमा संलग्न नभएको र त्यसमा यदि केही गडबडी भएको हो भने त्यो जिम्मेवारी कर्मचारीको हुने स्पष्ट पारे। ‘मैले केवल जग्गा उपलब्ध गराएको हो, प्रक्रिया र खरिदमा मेरो संलग्नता छैन,’ उनले जिकिर गरे।

अब कानुनी प्रक्रियाको सामना गर्न कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने उनले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जेठ २२, २०८२ बिहीबार १७:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।