
मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनासहित ऊर्जा, यातायात, उद्योग र सूचना प्रविधिका विभिन्न परियोजनाहरू अघि बढाउने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने ८१.०४१ किलोमिटर लामो केवलकार परियोजनाको लगानी स्वीकृत गरेको हो। सातवटा स्टेशन रहने सो केवलकार परियोजनाको अनुमानित लागत ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ।
‘बुट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) मोडेलमा निर्माण गरिने यस परियोजना मुक्तिनाथ दर्शन प्रालिले अघि सारेको हो। बैठकले सो कम्पनीसँग परियोजना विकास सम्बन्धी सम्झौताका शर्तहरूबारे वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
केवलकार परियोजना सञ्चालनमा आएपछि स्थानीयस्तरमा पर्यटकीय गतिविधि र रोजगारीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
त्यस्तै, बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजना (लगानी अनुमानित १६० अर्ब रुपैयाँ) को विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने निर्णय पनि गरेको छ।
साथै, दक्षिण कोरियाको ‘कोरेल’ कम्पनीसँग रेलमार्ग क्षेत्रमा सहकार्य गर्न अध्ययन गर्ने र सो सम्बन्धी समझदारीको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने निर्णय पनि बैठकले गरेको छ।
ऊर्जा क्षेत्रमा, ४३.२ मेगावाट क्षमताको छिलुङ खोला जलविद्युत आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना, र ४४ मेगावाटको बकान खोला जलविद्युत आयोजनाको लगानी स्वीकृत गरिएको छ।
बैठकले जनकपुरमा रिफाइन खानेतेल उद्योग र देशका विभिन्न स्थानहरूमा सूचना प्रविधि (आईटी) पार्क स्थापना सम्बन्धी प्राप्त प्रस्तावहरू पनि अघि बढाउने निर्णय गरेको छ।
जेठ २२, २०८२ बिहीबार १६:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।