सिमरा पुगे माधव नेपाल, साढे चारको ‘फ्लाइट’बाट काठमाडौं उड्दै

रौतहट : पतञ्जलि योगपीठको जग्गा प्रकरणमा आफूले कुनै पनि अनुचित काम नगरेको दाबी गर्दै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यो मुद्दा प्रतिशोधपूर्ण भएको प्रतिक्रिया दिएका छन्।
बिहीबार गृहजिल्ला रौतहट-१ मा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सुरुदेखि नै आफूविरुद्ध षड्यन्त्र रचिएको र राजनीतिक जीवन समाप्त पार्ने नियतसहित मुद्दा लगाइएको आरोप लगाए। ‘पतञ्जलिजस्तो संस्थामा यस्तो कुरा हुन्छ भन्ने त मैले कल्पना पनि गरेको थिइनँ,’ उनले भने।
नेपालले आफूले कुनै जग्गा खरिदबिक्रीमा संलग्न नभएको र त्यसमा यदि केही गडबडी भएको हो भने त्यो जिम्मेवारी कर्मचारीको हुने स्पष्ट पारे। ‘मैले केवल जग्गा उपलब्ध गराएको हो, प्रक्रिया र खरिदमा मेरो संलग्नता छैन,’ उनले जिकिर गरे।
अब कानुनी प्रक्रियाको सामना गर्न कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने उनले बताए। उनका स्वकीय सचिव लक्ष्मण रेग्मीका अनुसार अध्यक्ष नेपाल बिहीबार गौरबाट हुलाकी राजमार्ग हुँदै सिमरा पुगेका हुन्। उनी साँझ ४:३० बजे विमानमार्फत काठमाडौं फर्किने तयारीमा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जेठ २२, २०८२ बिहीबार १६:२४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।