साढे तीन बजेका लागि सारियो प्रतिनिधि सभा बैठक

साढे तीन बजेका लागि सारियो प्रतिनिधि सभा बैठक

काठमाडौं : प्रतिनिधिसभा बैठक पुनः सारिएको छ। बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक केही समयअघिमात्र सूचना टाँस्दै साढे ३ बजेसम्मका लागि सारिएको हो।

यसअघि बुधबारको बैठक पनि दिउँसो १ बाट ३ बजेसम्म सारिए पनि बैठक बस्न सकेन। त्यसपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको थियो।

भिजिट भिसा प्रकरणले संसद् बैठक लगातार प्रभावित भइरहेका छन्। जेठ १३ र १४ मा बोलाइएका बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण चल्न सकेनन्। मंगलबारको बैठक पनि विपक्षी दलहरूको माग पूरा नभएपछि अवरुद्ध भयो। गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग छ।

सत्ता पक्ष एमाले र कांग्रेसले भने भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन भइरहेको भन्दै छुट्टै संसदीय वा न्यायिक समिति गठन गर्न नसकिने अडान लिएका छन्।
 

जेठ २२, २०८२ बिहीबार १५:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।