गृहजिल्ला पुगेका नेपाल मुद्दा लागेको थाहा पाएपछि काठमाडौं फर्किँदै, पार्टी कार्यालयमा नेताहरू भेला

काठमाडौं : रौतहटमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि काठमाडौं फर्किंदै छन्।
नेपाल बुधबार पार्टीको कार्यक्रमका लागि रौतहट पुगेका थिए। कार्यक्रमको क्रममा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको थाहा पाएपछि उनी काठमाडौं फर्किँदैछन्।
एकीकृत समाजवादीको कार्यालयमा अहिले नेताहरू भेला भइसकेका छन्। नेपाल आइपुगेपछि बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालमाथि मुद्दा दायर भएसँगै, उहाँको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, जब कुनै सार्वजनिक ओहोदा सम्हाल्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुन्छ, त्यसको पद स्वतः निलम्बन हुन्छ।
नेपाल हाल रौतहट-१ बाट प्रतिनिधिसभाका सांसद हुन्। काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
कम्पनीका संस्थापक शालीग्राम सिंहले पनि कम्पनीको नाम प्रयोग गरेर सरकारसँग मिलेमतोमा बदनियतपूर्वक काम गरेको, भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० उल्लङ्घन गरेको आरोप छ।
आयोगले सम्बन्धित राष्ट्रसेवक र सरकारी पदमा बसेकाहरूले आफ्नो ओहोदाको दुरुपयोग गरेर गलत निर्णय गरेको ठहर गर्दै सो जग्गा जफत गरी सरकारको नाममा कायम गरिनुपर्ने दाबीसमेत गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मुद्दासम्बन्धी पत्र सङ्घीय संसद् सचिवालयमा पुगिसकेको छ।
आयोगको अनुसन्धान अनुसार, २०६६ सालमा भारतीय योगगुरु रामदेवको संस्था पतञ्जलीले काभ्रेको बनेपामा हदबन्दी छुटसहित ५९३ रोपनी जग्गा खरिद गरेको थियो। सो जग्गामध्ये ३५३ रोपनी दुई महिनामै काष्ठमण्डप हाउजिङ कम्पनीलाई गैरकानुनी रूपमा बिक्री गर्न मन्त्रिपरिषद्को निर्णयमार्फत अनुमति दिइएको थियो।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई हदबन्दी छुटसहित जग्गा खरिद गर्न स्वीकृति दिएको थियो।त्यसको दुई महिनापछि, ६ चैतमा फेरि अर्को मन्त्रिपरिषद् निर्णयमार्फत खरिद गरिएको जग्गा हाउजिङ कम्पनीलाई बेच्न मिल्ने अनुमति दिइयो।
जग्गा खरिदका लागि पतञ्जलीले बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५९३ रोपनी ५ आना ३ पैसा जग्गा खरिद गरेको थियो। त्यसपछि ३५३ रोपनी १५ आना जग्गा २०६७ असार ११ मा काष्ठमण्डप हाउजिङलाई बिक्री गरिएको थियो।
त्यतिबेला मन्त्रिपरिषद्मा भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे र भूमिसुधार सचिव छविराज पन्त थिए।
अनुसन्धानका क्रममा मन्त्री श्रेष्ठलाई जग्गा बेच्न प्रस्ताव अघि बढाउन प्रधानमन्त्री माधव नेपालले नै निर्देशन दिएको लिखित प्रमाण फेला परेको अख्तियारले जनाएको छ।
जेठ २२, २०८२ बिहीबार १५:०६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।