नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, माधव नेपालको सांसद पद स्वत: निलम्बन
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पतञ्जली योगपीठको जग्गा सट्टापट्टा/बिक्री प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले यस विषयमा अनुसन्धानका क्रममा नेपालसँग बयानसमेत लिएको थियो। नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटना हो।
यस्तै, मन्त्रिपरिषद्को सामूहिक निर्णयमाथि नै भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो घटना मानिएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
आयोगका अनुसार, भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न भन्दै हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो।
भूमिसम्बन्धी ऐन, २०२१ अनुसार उत्पादनमूलक उद्योग वा व्यवसायका लागि सरकारले हदबन्दीमा छुट दिने व्यवस्था भए पनि त्यसरी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न पाइँदैन। कम्पनी विघटन भएको खण्डमा यस्तो जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ।
तर, २०६६ साल माघ १८ गते माधव कुमार नेपाल प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनीसम्म जग्गा किन्न हदबन्दी छुट दिने निर्णय गर्यो। त्यसक्रममा पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो।
खरिद गरेको केही समयपछि नै पतञ्जलीले सो जग्गा बेच्ने निर्णय गर्यो, जसलाई २०६६ सालमै तत्कालीन मन्त्रिपरिषद्ले अनुमति दिएको थियो। हदबन्दी छुटमा पाएको जग्गा बिक्री गर्न सरकारले नै अनुमति दिनु अनियमितता भएको अख्तियारको ठहर छ।
जेठ २२, २०८२ बिहीबार १३:४२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।