साउदी अरेबिया : गतवर्ष १३ सय जनाको मृत्यु भएपछि यसपाली हजमा विशेष प्रबन्ध, कूलिङ युनिटसँगै सुरक्षा पनि बढाइयो

एजेन्सी : यस वर्षको वार्षिक हज यात्रा सुरू भएसँगै १४ लाखभन्दा बढी मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको पवित्र शहर मक्का पुगेका छन्। विश्वभरबाट लाखौं मुस्लिमहरू सहभागी हुने यो महत्वपूर्ण तीर्थयात्रा इस्लामका पाँच स्तम्भहरूमध्ये एक मानिन्छ।
गत वर्ष अत्यधिक गर्मीका कारण करिब १३ सय जना तीर्थयात्रीको मृत्यु भएको पृष्ठभूमिमा यस वर्ष साउदी अधिकारीहरूले विशेष सावधानी अपनाएका छन्।
यस वर्ष पनि तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। गर्मीबाट तीर्थयात्रीहरूलाई राहत दिनका लागि हजारौं रूखहरू रोपिएका छन् र सयौं कुलिङ युनिटहरू स्थापना गरिएका छन्।
साउदी अधिकारीहरूले हजको व्यवस्थापन र सुरक्षाका लागि पनि तयारी गरेका छन्। यस वर्ष १२ वर्षमुनिका बालबालिकालाई हजमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, भिसाबिना हज गर्ने प्रयास गर्नेहरूलाई निरुत्साहित गर्न कडा नियम लागू गरिएको छ। यस्ता तीर्थयात्रीहरूलाई ५ हजार अमेरिकी डलरसम्म जरिवाना र १० वर्षसम्मका लागि साउदी अरब प्रवेशमा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिइएको छ।
अधिकारीहरूका अनुसार आइतबारसम्म अनुमति बिना मक्का प्रवेश गर्ने प्रयास गरेका २ लाख ६९ हजारभन्दा बढी मानिसलाई रोकिएको छ।
हज शारीरिक र आर्थिक रूपमा सक्षम हरेक मुस्लिमले आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने धार्मिक कर्तव्य हो। यसलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि साउदी सरकारले हरेक वर्ष ठूलो मात्रामा स्रोतसाधन परिचालन गर्दछ।
जेठ २२, २०८२ बिहीबार १३:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।