हत्या अभियोगमा सर्वोच्चबाट आफूविरुद्ध आएको फैसलाबारे बोले अग्नि सापकोटा

काठमाडौं : पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफूविरुद्ध हत्या अभियोगमा छानबिनको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतको फैसलामाथि प्रतिक्रिया दिएका छन्।
खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै उनले फैसलाको लिखित रूप नआइसकेकाले अहिले नै प्रतिक्रिया दिन हतार हुने बताए
‘अहिले फैसलाको लिखित पनि आएको छैन। पूरै अध्ययन गर्नुपर्छ। अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन। पूर्ण पाठ आएपछि आधिकारिक धारणा व्यक्त गर्नू ठिक हुन्छ।’
सर्वोच्चको फैसलाको विषयमा आ-आफ्नै ढंगले प्रचार गरिएको भन्दै उनले त्यसमा त्यति धेरै सत्यता नभएको दाबी गरे।
सर्वोच्चबाट पूर्ण पाठ आएपछि मात्र उक्त विषयमा पार्टीमा छलफल हुने उनको भनाइ छ। अदालतबाट लिखित फैसला नआएसम्म त्यसबारेमा टिप्पणी गरिरहनु उचित नहुने उनको भनाइ थियो।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन गर्न श्रीमती पूर्णीमाया लामाले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले उनीविरुद्ध फौजदारी कसुरअनुसार अनुसन्धान गर्न प्रहरीलाई आदेश जारी गरेको थियो।
संवैधानिक प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूसहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडाल छन्।
पूर्णीमायाको रिटसँग अग्नि सापकोटाले कनकमणि दिक्षितविरुद्ध दायर गरेको अवहेलना मुद्दा र सुशील प्याकुरेलले सापकोटा विरुद्ध दायर गरेको रिटलाई एक साथ राखेर सुनुवाइ गरिएको थियो। सापकोटाको मुद्दामा दाबी नपुग्ने फैसला भएको छ भने प्याकुरेलको रिटको खारेज भएको थियो।
यी रिटमाथि अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला दिन नसकेपछि तीनवटा पुनः शून्यबाट सुनुवाइ सुरु गरिएको थियो।
जेठ २२, २०८२ बिहीबार १२:४१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।