भिजिट भिसा प्रकरणमा लचक माओवादी, पदाधिकारी बैठकले भन्यो- ‘व्यक्ति केन्द्रीत भनेका छैनौं तर छानबिन चाहिँ हुनु्पर्छ’

भिजिट भिसा प्रकरणमा लचक माओवादी, पदाधिकारी बैठकले भन्यो- ‘व्यक्ति केन्द्रीत भनेका छैनौं तर छानबिन चाहिँ हुनु्पर्छ’

काठमाडौं : माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा व्यक्ति केन्द्रीत नभई छानबिन हुनुपर्ने निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा व्यक्ति केन्द्रीत नभई समग्र विषयमा छानबिन हुनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि जिम्मेवार प्रतिपक्षको हिसाबले अधिकतम जोड दिने बताए।

उनले भिजिट भिसा प्रकरणको विषयमा छानबिन हुनुपर्ने पार्टीको अडान दोहोर्याउँदै भने, ‘गम्भीर विषयमा छानबिन गर्न आवश्यक छ। मुख्यतया छानबिन हुनुपर्छ। व्यक्तिगतमा त्यति ध्यान छैन। यसलाई सकारात्मक निकास दिनुपर्छ। सरकार पक्ष र विपक्ष पार्टीसँग पनि छलफल गर्नुपर्ने छ।’

प्रवक्ता सापकोटाले अन्य विपक्ष दलहरूसँग छलफल गरेर संसद्को निकासका लागि अघि बढ्ने पार्टीको निर्णय भएको पनि स्पष्ट पारे।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन्। यद्यपि पछिल्लो समय भने राजीनामा नआए पनि छानबिनका लागि समिति बने संसद खोल्न विपक्षी दलहरू लचक भएका छन्।

जेठ २२, २०८२ बिहीबार १२:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।