आईपीएलको दु:खद् अन्त्य : बेंगलुरूमा आरसीबीको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु, ३३ जना घाइते

आईपीएलको दु:खद् अन्त्य : बेंगलुरूमा आरसीबीको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु,  ३३ जना घाइते

एजेन्सी : भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशाला बाहिर बुधबार भएको भागदौडमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टोलीको विजय उत्सव मनाउन भेला भएका हजारौं समर्थकहरूबीच भागदौड भएको हो।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले घटनाको मजिस्ट्रेट जाँच गरिने पनि बताएका छन्।

अत्यधिक भीड र गेट नखुल्दा दुर्घटना
१८ वर्षपछि आईपीएलको उपाधि जितेको आरसीबी टोलीलाई स्वागत गर्न र विजय उत्सवमा सहभागी हुन चिन्नास्वामी रंगशाला बाहिर लाखौं समर्थक भेला भएका थिए। प्रहरीका अनुसार अपेक्षा गरिएभन्दा झन्डै दोब्बर अर्थात् करिब दुई लाख मानिस त्यहाँ जम्मा भएका थिए।

भागदौड चिन्नास्वामी रंगशालाको गेटमा भएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घटनाका बेला रंगशालाको गेट नखुलेको र ठूलो संख्यामा मानिसहरूले सानो गेटलाई धकेलेर भित्र पस्ने प्रयास गर्दा भागदौड मच्चिएको हो।

विजय परेड रद्द, यातायातमा समस्या
विशेष विमानमार्फत बेंगलुरुको एचएएल विमानस्थल आइपुगेको आरसीबी टोलीलाई उपमुख्यमन्त्री डीके शिवकुमारले स्वागत गरेका थिए। विजय उत्सव मनाउन टोलीले रंगशालासम्म परेड गर्ने कार्यक्रम थियो। तर, अत्यधिक भीड र वर्षाका साथै भागदौडको घटना भएपछि टोली होटलमै फर्किएको थियो, जसका कारण विजय परेड रद्द भयो।

शहरका विभिन्न भागबाट आएका समर्थकहरू आफ्ना सवारी साधनमा रंगशालातर्फ जाँदै गर्दा यातायात अस्तव्यस्त बनेको थियो। मेट्रो रेलमा अत्यधिक भीडभाड थियो भने अटोरिक्सा र ट्याक्सी चालकले रंगशाला नजिक जान अस्वीकार गर्ने वा धेरै भाडा लिएर टाढै छाडिदिने गरेका थिए। भागदौडको खबर फैलिएपछि रंगशाला क्षेत्रमा कोलाहल मच्चिएको थियो। त्यसपछि  मेट्रो अधिकारीहरूले रंगशाला नजिकका स्टेशनहरू बन्द गर्नुपरेको थियो।

सरकार र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
घटनापछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सिद्धरामय्याले घटनाप्रति दुःख व्यक्त गरे। उनले भीड अनियन्त्रित हुने डरले नै विजय परेडको अनुमति नदिइएको र रंगशाला नजिकको भीडका कारण यो दुर्घटना भएको बताए। उनले जनतालाई आफ्नो सुरक्षामा ध्यान दिन अपील समेत गरे। उपमुख्यमन्त्री डीके शिवकुमारले पनि घटनालाई दु:खद भन्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बेंगलुरुको घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जालमा पोष्ट गर्दै दुर्घटनालाई ‘धेरै दुखद’ भन्दै मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बीसीसीआईको प्रतिक्रिया
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष तथा कांग्रेस सांसद राजीव शुक्लले यति धेरै भीड अचानक बढ्ने कुरा कसैले अनुमान नगरेको भन्दै यसलाई अचानक भएको दुर्घटना बताएका छन्। उनले मृतक तथा घाइतेका परिवारलाई सहयोग गर्ने प्रयास भइरहेको जानकारी दिँदै दु:खद् घटनामा राजनीति नगर्न आग्रह गरेका छन्।

जेठ २२, २०८२ बिहीबार ०८:२०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।