सङ्घीय संसद्का दुवै बैठक आज : बजेट र विधेयकमाथि छलफलको कार्यसूची, अवरोध कायमै रहने आशंका

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजेका लागि बोलाइएको छ।
बजेटमाथि छलफल र महत्त्वपूर्ण विधेयक पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले उठाउँदै आएको मागका कारण बैठक सहज रुपमा अघि बढ्नेमा आशंका कायमै छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सोही प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने सम्भावित कार्यसूची छ।
विषयगत समितिमा सदस्य हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पनि सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यसूचीमा उल्लेख छ।
तर, विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएका छन्। त्यसैले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न पाउने वा नपाउने भन्ने निश्चित छैन।
उता, राष्ट्रियसभाको बैठकमा भने आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
जेठ २२, २०८२ बिहीबार ०७:२८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।