आईसीसी विश्वकप लिग २ : आरिफ शेखको करियर बेस्ट ७८ रनले नेपालको दोस्रो जित

आईसीसी विश्वकप लिग २ : आरिफ शेखको करियर बेस्ट ७८ रनले नेपालको दोस्रो जित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। आरिफ शेखको करियरकै उत्कृष्ट ७८ रनको पारीले नेपाललाई सहज जितमा पुर्याएको छ।

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। यो जितले नेपाललाई स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो सफलता दिलाएको छ।

नेपालको जितमा आरिफ शेखको ७८ रनको अविस्मरणीय पारी निर्णायक भूमिकामा रह्यो। उनले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए। यो आरिफको करियरकै उच्च स्कोर हो।

आरिफले स्लो सुरुवात गरेपछि केही समय संयमित भएर खेल्दै बिस्तारै रनगति बढाएका थिए। ६८-३ को चुनौतीपूर्ण अवस्थाबाट कप्तान रोहित पौडेल (२३ रन) सँग मिलेर ५५ रनको महत्वपूर्ण साझेदारी गरे।

रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेको अवस्थाबाट दीपेन्द्रसिंह ऐरी (३८ रन) सँग मिलेर ८९ रनको निर्णायक साझेदारी गर्दै नेपाललाई जितको ढोकामा पुर्याएर आउट भएका थिए।

दीपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाएर टिमलाई जितमा पुगेका थिए। कुशल भुर्तेलले २५ रन बनाए भने गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे। त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाएका थिए।

पहिले टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। उनीहरूले सुरुवाती १६ रनमा २ विकेट गुमाएको अवस्थामा कप्तान सिंह र एडवार्ड्सले टिमलाई सम्हालेका थिए। दुवै ब्याट्सम्यानले तेस्रो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई स्थिर स्थितिमा पुर्याएका थिए।

त्यसपछि १६६ रनमा ७ विकेट गुमाउने चुनौतीपूर्ण अवस्थामा क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे। यो साझेदारीले नेदरल्याण्ड्सलाई २२५ रनको सम्मानजनक स्कोर बनाउन मद्दत गर्यो। नेपाललाई पछ्याउने क्रममा नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १-१ विकेट लिए।

नेपालका लागि सोमपाल कामीले शानदार बलिङ प्रदर्शन गरे। उनले ९.१ ओभरमा मात्र ४८ रन दिएर ३ विकेट लिए। यो प्रदर्शनले नेदरल्याण्ड्सको ब्याटिङ लाइनअपलाई दबाबमा राख्यो। अन्य बलरहरूमा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान रूपमा २-२ विकेट लिएर टिमलाई सहयोग गरे।

नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा स्कटल्यान्डलाई हराएको थियो। यो जितले नेपाली टिमको आत्मविश्वास बढाएको छ। आगामी खेलको रूपमा नेपालले जुन ८ मा फेरि स्कटल्यान्डसँग भिड्नेछ।

जेठ २२, २०८२ बिहीबार ०१:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।