गण्डकी सरकारको नीतिमा सधैँ खेल पूर्वाधार तर कहिल्यै हुन्न सुरु

गण्डकी : गण्डकी प्रदेश सरकारले पटक पटक नीति, कार्यक्रम र बजेटमा महत्त्वपूर्ण खेल पूर्वाधारका योजना पर्ने गरेका छन्। तर कार्यान्वयनमा भने आउँदैन।
बुधवार सार्वजनिक आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि पुरानै खेल पूर्वाधार निर्माणको घोषणाले निरन्तरता पाएको छ। नीति तथा कार्यक्रममा खेलकुद प्रवर्द्धन गर्न पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटनको विकास गरिने उल्लेख छ।
सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय रङ्गशाला निर्माणलाई अगाडि बढाउने यो पटक पनि परेको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रङ्गशाला बनाउने घोषणा गरेको थियो। यसलाई सङ्घ सरकारलेसमेत आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको छ।
प्रदेश सरकारले घोषणा गरेकै वर्ष आयोजनाको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि एक करोड बजेट छुट्टाएको थियो।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा बर्सेनि छुट्टिने बजेट कामै नभई ‘फ्रिज’ हुने गरेको छ। जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले रङ्गशाला निर्माणको योजना सुस्ताएको प्रदेश सरकारको भनाइ छ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको दक्षिणपट्टि छिङ्गुरमा जग्गा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।
थोरङ्ग भन्ज्याङ जाने मार्गको ३७ सय मिटरभन्दा बढीको उचाइमा छिङ्गुर क्षेत्र पर्छ। उक्त रङ्गशालामा फुटबल मैदान, कभर्डहलदेखि आवश्यक खेल पूर्वाधार बन्ने जनाइएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा क्रिकेट रङ्गशाला निर्माणको समेत घोषणा गरिएको छ। उक्त घोषणा पनि नयाँ होइन।
प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समेटेको क्रिकेट रङ्गशाला पनि जग्गाकै कारण अन्योलमा परेको छ।
पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणको पहल २०७१ देखि नै सुरु भएको थियो। प्रदेश सरकार बनेपछि लाखौँ खर्चेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारियो।
रङ्गशाला निर्माणको काम सुरु हुन सकेन। रेखदेख र संरक्षण नहुँदा रङ्गशालाको जग्गा नदी कटानको जोखिममा छ।
पशुपतिघाटमा रङ्गशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार अहिले नयाँ जग्गाको खोजीमा लागेको छ। पशुपतिघाटमा रङ्गशालाको योजना दिगो हुने नदेखिएपछि विकल्प खोजिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
क्रिकेट रङ्गशालाका लागि एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ। विस्तृत परियोजना प्रतिवेदनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्ने गरी पूर्वाधार तयार पारिने उल्लेख छ।
रङ्गशालामा १३० भिभिआइपी सिट, एक हजार दुई भिआइपी र स्पेसल, ९०० सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो ।
स्रोत जुटाएर तीन/चार वर्षभित्रमै रङ्गशाला निर्माण गर्ने प्रदेश सरकारको योजना कार्यान्वयनमा भने आउन सकेको छैन।
नीति तथा कार्यक्रममा सङ्घ सरकारसँग मिलेर पोखरा रङ्गशालाको स्तरोन्नति गरिने उल्लेख छ। अन्तरराष्ट्रियस्तरको पोखरा रङ्गशालामा बत्ती ‘फ्लड लाइट’ छैन। खेल पूर्वाधारको पनि अभाव छ। ठूलो धनराशि खर्चेर बनाइएको रङ्गशालामा ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन हुन सकेको छैन।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ। १६ हजार ५ सय दर्शक क्षमताको उक्त रङ्गशालामा कतिपय खेल पूर्वाधार र भौतिक संरचनाको भने अझै पनि अभाव छ।
पोखरा रङ्गशालामा ‘फ्लड लाइट’का लागि करिब १२ करोड लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्टाएको पाँच करोड बजेट कोभिड–१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो।
जेठ २१, २०८२ बुधबार २३:२०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।