कोरोना छिर्‍यो नेपाल, भारतबाट आएका तीन जनामा सङ्क्रमण पुष्टि

कोरोना छिर्‍यो नेपाल, भारतबाट आएका तीन जनामा सङ्क्रमण पुष्टि

बैतडी : भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार दुई पुरुष र एक महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो।

कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको उनले जानकारी दिए।

“भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने ‘कोरोना पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।’

कोरोना सङ्क्रमण पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको जोशीले जानकारी दिए।

भारत लगायत अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भन्दै सुदूरपश्चिमका सबै सीमा नाकामा सतर्कता अपनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। 

जेठ २१, २०८२ बुधबार २१:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।